भदौ १४, नवलपुर : जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।
मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वास्थ्यका लागि निकै नै लाभदायक मानिन्छ । पछिल्लो समय होटलमा समेत क्वाँटी बनाएर बेच्ने गरेको पाइन्छ । तर, घरमै स्वादिष्ट क्वाँटी बनाएर खान सकिन्छ ।
क्वाँटी बनाउन आवश्यक सामग्री
१।गेडागुडी
२।नुन
३।तेल
४। गरम मसला
५।जिरा र धनियाँको धुलो
६।बेसार
७।पिसेको अदुवा र लसुन
८।पिसेको रातो खुर्सानी
९। ज्वानो
बनाउने तरिका
– गेडागुडीलाई एकदेखि दुई दिनसम्म भिजाउने
– भिजाएको गेडागुडीलाई कुकरमा पाक्ने गरी बेसार हालेर उसिन्ने
– डेक्चीमा आवश्यकताअनुसार पानी उमाल्ने
– पानी उम्लिएपछि उसिनेको गेडागुडी राख्ने अनि नुन, जिराको धुलो, खुर्सानीको धुलो, अदुवा र लसुन राख्ने
– क्वाँटीलाई सानो आगोमा १०–१५ मिनेट उमाल्ने
– त्यसपछि तेल र घिउ तथा ज्वानो राखेर झान्ने
– अब धनियाँ राखेपछि स्वादिष्ट क्वाँटी तयार भयो ।

