२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए ।
उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’
सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’
यसो हुनुमा केन्द्रबाट आफूहरुको गल्ती भएको उनले बताए । ‘हाम्रो कमीकमजोरीको कारण आज चितवन नेपाली कांग्रेसको हातबाट गइराखेको अवस्था छ,’ उनले भने ।

