काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले आफ्नो कार्यशैली बद्लेर काम गर्ने बताएका छन् ।
आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकीको चिन्तामा आफू रहेको भन्दै अब सरकारले कार्यशैली बदलेर काम गर्ने बताएका हुन् ।
उनले भारतसँग मात्र नभएर बंगलादेशसँग पनि विद्युत व्यापारको एकदम नजिक पुगेको बताए । नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको उनले जानकारी गराए । देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै पुगेको थियो भन्दै उनले प्रश्न गरे ।
उनले भने,‘भारतसँग मात्र नभएर बंगलादेशसँग पनि हामी विद्युत वयापारको एकदम नजिक पुगेका छौं । नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापारमा हस्ताक्षर हुँदैछ । म निराशाावादीसँग सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धी होइन ?’
उनले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरे । नकारात्मक भावनाले सम्भव काम पनि असम्भव बनाइरहेको भन्दै आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेको उनको भनाइ थियो ।

