१२ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको बताएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।’
उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।

