सीपीआर गर्न छातीको केन्द्रमा बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ ।
कसरी हुन्छ उपचार ?
हृदयघात एकिन भएपछि रगत पातलो पार्ने औषधिहरु एसपिरिन र क्लोपीडोग्रेल खुवाइन्छ । त्यसपछि क्याथ ल्याबमा लगिन्छ । बिरामीको मुटुको अवस्था हेर्न बीपी मोनिटोरिङ गरी एक्सरे सहायताले हातको नाडी वा खुट्टामा सानो प्वाल पारी पाइप छिराएर बन्द रहेको रक्तनली पत्ता लगाई सो नली खोलेर त्यहाँ (जाली वा पाइप) स्टेन्ट राखिन्छ । र, रक्तप्रवाहलाई सुचारु गरिन्छ ।
यति गरेपछि अक्सिजनको प्रवाहमा सुधार आई छातीको दुखाइ काम हुन्छ । र, मुटमा रहेको मांसपेशी मर्दैन । बन्द भएको नसा जति चाँडो खोल्यो उति मुटुलाई बचाउने सम्भावना बढी हुन्छ ।
यसरी पाइप छिराएर नलीलाई खोल्ने प्रविधिलाई प्राइमरी एन्जियोप्लास्टी भनिन्छ ।
उपचार समयमा नपाउँदा
हृदयघात हुँदा मुटुमा रगत लैजाने रक्तनली शतप्रतिशत बन्द हुन्छ, जसले मुटुको मासु मर्न थाल्छ । र, बिस्तारै मुटु फेल हुँदै मुटु वरपरको मांसपेशी मर्दै गई फेल हुन्छ । त्यति नै बेला विद्युतीय गडबडी हुन्छ । र, मानिसको ज्यान जान सक्छ ।