
प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक छ ।
नेपालमा भने पर्याप्त तथ्यांक राख्ने प्रणाली (पपुलेसन बेस्ड नेसनल मिर्गौला रजिस्ट्री) नभएकाले वास्तविक दीर्घ मिर्गौला रोगीको संख्या यकिन छैन । यद्यपि ग्लोबल बर्डन अफ डिजिजेजको तथ्यांकमा आधारित एक राष्ट्रिय अध्ययन (अच्युतराज पाण्डे एट अल) अनुसार नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत दीर्घ मिर्गौलाका रोगी रहेका छन् भने मृत्युदर प्रतिलाख दुईदेखि तीन जना रहेको छ । साथै महिला भन्दा पुरुषमा दीर्घ मिर्गौला रोगको ‘प्रिभेलेन्स’ दर धेरै रहेको अध्ययनले बताएको छ ।
अस्वस्थकर जीवनशैली, प्रशस्त पिउने पानीको अभाव, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नगर्नु यो रोग लाग्ने प्रमुख कारण हुन् । विश्वमा नसर्ने रोगका कारण हुने मृत्युदरमा दीर्घ मिर्गौला रोगको कारणले गर्दा हुने मृत्युदरको क्रम सातौं स्थानमा रहेको छ । जीवनभर रूग्ण-विकलाङ्ग भएर बाँच्नुपर्ने आयु अवधि गराउने प्रमुख कारकमा दीर्घ मिर्गौला रोगको स्थान २६ औं स्थानमा छ । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला संक्रमणका बिरामीमा अन्तिम अवस्थाको मिर्गौला रोग हुने जोखिम उच्च रहने विभिन्न अध्ययनले देखाएका छन् ।
अन्तिम अवस्थाका मिर्गौलाका बिरामीले बाँच्नका लागि मिर्गौला प्रत्यारोपण या नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गौला रोगका अन्तिम अवस्थाका जम्मा बिरामीमध्ये डायलाइसिस गराउनुपर्ने बिरामीको हिस्सा ९९ प्रतिशत हुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनको रिपोर्टलाई आधार मान्दा नेपाल लगायत विश्वमै दीर्घ मिर्गौला रोगको भार र ‘प्रिभेलेन्स’ दर भयावह रुपले बढ्दो छ ।
नेपालमा गरिएको एक अध्ययन (कमल रानाभाट एट अल) अनुसार डायलाइसिस गरेका बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय स्वास्थ्यका अवयवहरू तुलनात्मक रूपमा राम्रो देखिएको थियो । यद्यपि अधिकांश डायलाइसिस सेन्टर तथा प्रत्यारोपण सेवा काठमाडौं केन्द्रित हुँदा बिरामीले समयमै दूरदराजबाट सेवा लिन सास्ती झेल्नुपरेको अवस्था छ । साथै नेफ्रोलोजिस्ट डाक्टरको सीमित संख्या, डायलाइसिस र प्रत्यारोपण सेवा पाउन लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता, अपर्याप्त आर्थिक सुरक्षा तथा सरकारको सीमित स्वास्थ्य बिबीमा प्याकेज पनि समस्याका रूपमा छ ।
मिर्गौला रोगको सुरुवाती संक्रमण चरण प्राय: सुषुप्त हुने हुँदा अधिकांश मिर्गौला रोगीलाई आफ्नो रोगको प्रारम्भिक अवस्थाबारे थाहा नै हुँदैन । मिर्गौला रोगको निदान हुँदा समेत धेरै बिरामीले प्रभावकारी उपचार पाउन नसकेको अवस्था छ ।
मिर्गौला रोगको कारण कालान्तरमा पूरै काम नलाग्ने (किड्नी फेल) हुने, मृत्युदर बढ्ने, नियमित डायलाइसिस गरिरहनुपर्ने कारणले गर्दा प्रत्यक्ष-अप्रत्यक्ष आर्थिक भार बिरामीमा पर्ने, शारीरिक समस्या, मानसिक तनाव तथा सामाजिक सम्बन्धमा नकारात्मक असर आदिको समग्र कारणले दीर्घ मिर्गौला रोगीले गुणस्तरीय जीवनयापन गर्न नपाएको विभिन्न अनुसन्धानको तथ्यले बताएको छ ।
त्यसैले मिर्गौला रोगीलाई स्थानीय तहअन्तर्गत रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रदेखि नै छिटोछरितो र प्रभावकारी उपचार प्रदान गर्ने प्रणाली र वातावरणको निर्माण गर्न सरकार, चिकित्सा क्षेत्र र सम्बन्धित सरोकारवालाले भूमिका खेल्नु अपरिहार्य छ ।