इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५ अर्ब २२ करोड चाहिँ सोसल मिडिया प्रयोगकर्ता रहेका छन् ।

वास्तवमा इन्टरनेट आधुनिक सूचना समाजको आधारभूत स्तम्भ मात्र बनेको छैन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर, इन्टरनेट जति सहज र फाइदाजनक छ उत्ति नै खतरनाक पनि छ ।

इन्टरनेटमा गरिएको एउटा सानो गल्ती वा असावधानीले हाम्रो पूरै जिन्दगी नै बर्बाद गरिदिन सक्दछ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोग गर्न र त्यसबाट अधिकाधिक रुपमा सकारात्मक लाभ लिनका लागि  हरेक इन्टरनेट प्रयोगकर्ताले यी ५ वटा अत्यावश्यक काम गर्नैपर्दछ :

पासवर्ड म्यानेजरको प्रयोग गर्नुहोस्ः

आफ्नो अनलाइन सुरक्षालाई बलियो बनाउनका लागि पासवर्ड म्यानेजरको प्रयोग गर्नुहोस् । यसले तपाईंलाई सुरक्षित तथा जटिल पासवर्ड सिर्जना गर्नका लागि सहयोग पुर्‍याउँछ र सबै पासवर्डलाई सुरक्षित तरिकाले स्टोर गर्दछ । यसबाट तपाईंले हरेक अकाउन्टका लागि फरक-फरक पासवर्ड सम्झिनुपर्ने चिन्ता हुँदैन ।

टू फ्याक्टर अथेन्टिकेसन सक्रिय बनाउनुहोस्ः

आफ्ना सबै महत्वपूर्ण अनलाइन अकाउन्टहरुमा टू फ्याक्टर अथेन्टिकेसन फिचर सक्रिय बनाउनुहोस् । यो एक अतिरिक्त सुरक्षा तह हो, जसले कुनै पनि अनधिकृत पहुँच रोक्नमा सहयोग गर्दछ, चाहे तपाईंको पासवर्ड चोरी नै किन नहोस् ।

क्लाउड स्टोरेजमा डाटा ब्याकअप गर्नुहोस्ः

आफ्ना महत्वपूर्ण डेटाको ब्याकअप नियमित रुपमा क्लाउड स्टोरेजमा गर्नुहोस् । यसका लागि तपाईंले गुगल ड्राइभ, वन ड्राइभ वा आइक्लाउड जस्ता नि:शुल्क क्लाउड स्टोरेजको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइँका डेटालाई सुरक्षित राख्दछ र आफ्नो अकाउन्ट लगइन भएका कुनपनि डिभाइसबाट ती डेटा प्रयोग गर्ने सुविधा प्रदान गर्दछ ।

ब्राउजर एक्सटेन्सनको स्मार्ट प्रयोगः

ब्राउजर एक्सटेन्सनहरु जस्तै एड ब्लकर तथा पासवर्ड म्यानेजर इन्स्टल गर्नुहोस् जसले तपाईंको ब्राउजिंग अनुभवलाई सुरक्षित तथा सजिलो बनाउँछ । यद्यपि केवल त्यही एक्सटेन्सनको मात्रै प्रयोग गर्नुहोस् जुन विश्वासयोग्य हुन्छ र आवश्यक हुन्छ ।

स्पाम तथा फिसिंगदेखि सावधानः

अज्ञात इमेल वा मेसेजका लिंकमा क्लिक नगर्नुहोस् र कसैसँग पनि निजी जानकारी शेयर नगर्नुहोस् ।

फिसिंग आक्रमणबाट बँच्नका लागि इमेलको स्रोतको जाँच गर्नुहोस् अनि बैंकिङ, सोसल मिडिया जस्ता अकाउन्टहरुमा हुनसक्ने कुनै पनि संदिग्ध गतिविधिमा नजर राख्नुहोस् ।