![](https://www.nsancharonline.com/wp-content/uploads/2024/12/NCP_Biplav-696x366-1.jpg)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को चुनावमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेको थिएन । केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णयसमेत गरेको छ ।
‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव नेत्रविक्रम चन्दको पारित प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि सबै वडा, पालिका, प्रदेश एवं संघका निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर कामलाई अगाडि बढाउनुपर्छ ।’
पार्टीले २०८४ को चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिह्न लिने निर्णयसमेत गरेको छ । २०८४ को चुनावलाई क्रान्तिको एक महत्त्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्ने नीतिसमेत उसले लिएको छ । चुनाव जित्ने तरिका र उम्मेदवारबारे चनाखो हुनुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
सूचनामा सामाजिक सञ्जालको प्रयोगले नयाँ पुराना पार्टीलाई प्रभाव पारिरहेको चन्दको भनाइ छ । नेकपाले राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, सहकारी ठगीलाई केन्द्रबिन्दुमा राखेर संघर्ष उठाउन जोड दिने निर्णय गरेको छ । पार्टीले मिटरब्याज, लघुवित्त, एमसीसी, युवा पलायनजस्ता समस्यालाई लिएर मुद्दाअनुसारका संरचना निर्माण गरेर संघर्ष गर्ने कार्यक्रम पनि बनाएको छ ।
कम्युनिस्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । माओवादी केन्द्र र नेकपाबीच लामो समयदेखि एकता लागि छलफल चले पनि निष्कर्षमा पुग्न सकेको छैन । एकताको विषय माओवादी केन्द्रको निर्णयमा पनि भर पर्ने पार्टीको ठहर छ । एकता तत्काल सम्भव नभए मोर्चाबन्दी गर्ने नीतिलाई अख्तियार गर्नुपर्नेमा पनि चन्दको जोड छ ।