
७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल भयो । यसको कारण हो नेपाली खो खो टिमले विश्वकपमा गरेको प्रदर्शन र हात पारेको उपलब्धि ।
पहिलोपटक आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोलीले शानदार प्रदर्शन गर्दै उपविजेता बनेपछि अहिले धेरैले खो खो खेल के हो ? यो कस्तो खेल हो ? कसरी खेलिन्छ ? भनेर खोज्न थालेका छन् ।
भारतको नयाँदल्लीमा पुस २९ गते देखि माघ ६ गते सम्म भएको प्रथम खो खो विश्वकपमा नेपालको महिला तथा पुरूष दुवै टिमले रजत पदक जितेपछि अहिले नेपाली खेलकुद नै खो खो मय बनिरहेको छ ।
राष्ट्रिय खेलकुद परिषदले सोमबार विज्ञप्ति जारी गर्दै खो खो खेलको सफलता नेपाली खेलकुदका लागि कोशेढुंगा साबित भएको जनाएको छ । ‘खो खो विश्वकपमा नेपालले जुन सफलता हात पार्यो यो नेपाली खेलकुदमै गौरवको क्षण हो’ इतिहास रच्ने टोलीलाई स्वागत गरेपछि नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले अनलाइनखबरसँग भने, ‘हामीले जुन किसिमले फाइनलसम्म पुग्ने लक्ष्यका साथ तयारी गरेका थियौं त्यसमा सफल भयौं । खेलाडीले धेरै राम्रो प्रदर्शन गरे ।’
नेपालको कुनै पनि खेलको लागि विश्वकप पुग्न र त्यहाँ खेल जित्नु नै ठूलो चुनौति हुने गर्छ । यस्तोमा खो खो खेलबाट पहिलोपटक भएको विश्वकपमै नेपालले सनसनी प्रदर्शन गर्दै इतिहास रच्नु चानचुने उपलब्धि होइन । त्यो पनि एक टिम होइन महिला र पुरूष दुवै टिमले नै यो ऐतिहासिक सफलता हात पारेका हुन् ।
खो खो विश्वकपमा कूल २३ राष्ट्र सहभागी भएकोमा पुरूषतर्फ २० र महिलातर्फ १९ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा आयोजक भारत दुवैतर्फ अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।
नेपाल भने महिला र पुरूष दुवैमा भारतसँग नै पराजित भयो । अन्य खेलकुद जस्तै खो खो विश्वकपमा पनि नेपालका लागि भारत नै अन्तिम तगारो बन्यो । आइतबार इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा पुरूषतर्फ नेपाल भारतसँग ५४-३६ तथा महिलातर्फ ७८-४० ले पराजित भएको हो ।
फाइनलमा पराजित भएपनि विश्वकपको फाइनल खेलेर उपविजेता बन्नु नै नेपालको लागि ऐतिहासिक उपलब्धि हो । उपविजेता दुवै टोली सोमबार स्वदेश फर्किएका छन् । नेपाली टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
पुरूष र महिला टोलीका कप्तान दुवैले फाइनल पुग्ने लक्ष्यमा सफल भएको भन्दै रजत पदक जित्दा खुशी व्यक्त गरे । ‘हामी विश्वकप खेल्न जाँदा नै पदक जित्छौँ भन्ने लक्ष्यका साथ गएका थियौं र दोस्रो भएर आउँदा निकै खुशी छौँ र गर्व लागेको छ’ पुरूष टिमका कप्तान हेमराज पनेरुले भने । महिला टिमकी कप्तान सरस्वती कठायतले पनि रजत जित्दा खुशी लागेको बताइन् ।
पुरूष टिमका प्रशिक्षक कयामुद्दिन मन्सुरले छोटो समयमको तयारीमै नेपालले विश्वकपको फाइनल पुगेर इतिहास रचेको र प्रशिक्षण गर्न पाए अझ ठूलो सफलता हात पार्ने बताए । ‘एक महिना प्रशिक्षण गरेर पनि हामी उपविजेता भयौं । ६ महिना प्रशिक्षण गर्न पायौं भने हामी भारतलाई हराउन सक्छौं’ उनले भने ।
यसैगरी महिला टिम प्रशिक्षक लक्ष्मीनारायण बैद्यले पनि लामो सयम प्रशिक्षण गर्न पाए अझ राम्रो नतिजा ल्याउने सकिने बताए । प्रथम खो खो विश्वकपमै उपविजेता बनेपछि अहिले सबैतिर खो खो चर्चा देखिन थालेको छ ।
खो खो संघका अध्यक्ष महर्जनले गुमनाम रहेको खो खो खेललाई विश्वकपको सफलताले चर्चामा ल्याइदिएको बताए । ‘सगरमाथामा पुग्नु सजिलो छ । तर त्यहाँ पुगेर अडिरहनु गाह्रो छ’ उनको भनाइ थियो ।
खो खो खेललमा विगतमा पनि नेपाली खो खो टिमले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हासिल गरेको छ । तर यस किसिमको चर्चा भएको थिएन । यसपटक भने मिडियाहरूमा खो खो विश्वकपबारे समाचार आएपछि यसको चर्चा अझ बढेको भन्दै खो खो संघका अध्यक्ष महर्जनले सबैलाई धन्यवाद दिए ।
१२औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको पुरूष तथा महिला खो खो टिम दोस्रो भएको थियो । यस्तै सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा भने नेपाली महिला टिमले रजत तथा पुरूष टिमले कांस्य जितेका थिए ।
यसैगरी पहिलो, दोस्रो तथा तेस्रो एशियन खो खो च्याम्पियनशिपमा नेपालको दुवै टिम तेस्रो भएका थिए भने चौथो एशियन खो खो च्यापियनशिपमा नेपालको दुवै खो खो टिम दोस्रो भएका थिए ।
खो खो संघका अध्यक्ष महर्जनले अब खो खो खेलको स्कुल देखि नै प्रतियोगिताहरू गर्ने र राष्ट्रिय टिम अझ बलियो बनाउने बताए । ‘हामीले जिल्ला संघहरूलाई स्कुल स्तर देखि नै प्रतियोगिताहरू गर्न भनिसकेका छौँ । यस्तै पुरूषको राष्ट्रिय प्रतियोगिता माघमा दाङ र महिलाको राष्ट्रिय प्रतियोगिता फागुनमा सुनसरीमा गर्नेछौँ ।’
विश्वकप खेल्न जानुअघि संघकै पदाधिकारीहरूले रकम जम्मा गरेर सहभागी भएको खो खो टोलीका खेलाडी, प्रशिक्षक र संघले पनि अब सरकारबाटै नगद पुरस्कार र सम्मान पाउनेछ । यसले पनि खेलाडीको हौसला बढ्नेछ ।
‘कानुनमै उल्लेख भएअनुसार खेलाडीहरूलाई सरकारबाट पुरस्कृत गरिनेछ । विश्वकपमा उपविजेता बन्ने खेलाडीलाई पुरस्कारमा कुनै ढिलाई हुँदैन । यसका लागि संघले १५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।’ खेलाडीलाई स्वागत पछि राखेप सदस्य सचिव टंकलाल घिसिङले भने ।
यस्तो थियो पुरूष र महिला टिमको फाइनल यात्राः
नेपालले विश्वकप खेल्न भारत जानुअघि नै फाइनलसम्म पुग्ने लक्ष्य राखेको थियो र त्यसमा सफल भयो । तर उपाधि नजिक पुगेर ट्रफी उचाल्न भने वञ्चित भयो । दक्षिण एसिया र एसियामा पनि नेपाल उपविजेता सम्म भएको थियो ।
विश्वकपको फाइनलसम्म पुग्ने क्रममा भने नेपालले गज्जबको प्रदर्शन गर्यो । पुरूषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो ।
पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ को अन्तरले हराएको नेपालले सेमिफाइनलमा इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको थियो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।
सरस्वती कडायतको कप्तानीमा रहेको नेपाली महिला खो खो टोलीले विश्वकपको पहिलो संस्करणमै शानदार प्रदर्शन गर्दै नेपाली खो खो को चर्चा बढाएका थिए ।
यस्तो छ नेपाली टिमः
नेपाल पुरूष खो खो टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा
नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले