कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।

जनमोर्चा नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका केन्द्रीय सदस्य दीपक पाण्डेले संघीयता लागु भएपछि देश आर्थिक संकटमा फसेको, प्रशासनिक ढाँचामा अराजकता बढेको र जनताले सोचेअनुसारको लाभ नपाएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताए ।

आन्दोलन चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा विभिन्न चरणमा हुने जनमोचाृ नवलपुरका अध्यक्ष गिरबहादुर महतराले बताए । सो अवधिभर जनप्रदर्शन, विरोधसभा, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिने उनको भनाइ छ ।

पार्टीले संघीयता खारेजीको विकल्पमा सुदृढ स्थानीय शासन प्रणालीलाई अघि बढाउनु पर्ने प्रस्ताव अघि सारेको छ । जनमोर्चाले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता र आर्थिक स्थायित्व जोगाउनका लागि यो आन्दोलन आवश्यक रहेको बताएको छ । जनमोर्चाले प्रतिनिधि सभा सदस्यको संख्या पनि घटाउनु पर्ने माग गरेको छ ।

यसअघि पनि जनमोर्चाले विभिन्न चरणमा संघीयताविरोधी अभियानहरू सञ्चालन गरेको थियो । अबको आन्दोलन निर्णायक हुने बताउँदै नेताहरूले संघीयता खारेजीको पक्षमा जनमत सिर्जना गर्न सबैलाई आह्वान गरेका छन् ।