
नवलपुर, असार ६ गते । नवलपुरको देवचुलीमा आगोले जलेर घाइते भएकी कावासोती नगरपालिका-८ की बालिकाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
देचुली–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा जेठ ३० गते राति आगोले पोलेर घाइते भएका ५ जना मध्ये एक बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । आगोले पोलेर एकै परिवारका ३ सहित ५ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार कावासोती–८ निवासी ४४ वर्षीय प्रदीप कुमार भट्टराईकी छोरी ६ बर्षीया अन्नी भट्टराईको वर्न अस्पताल कीर्तिपमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनामा कावासोती–८ निवासी ४४ वर्षीय भट्टराई, उहाँकी श्रीमती ४१ वर्षीया मीना पौडेल, छोरी अन्नी, २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका थिए । भट्टराई कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसका प्रध्यापक हुनुहुन्छ । घाइते चार जनाको वर्न अस्पतालमै उपचार भईरहेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।
रिसोर्टमा सेकुवा पोल्ने क्रममा पाँच जनालाई आगोले पोलेको थियो । उक्त घटनामा रिसोर्टको गम्भीर लापरवाही भएको पीडितको दाबी छ । घाइते भट्टराईले बारविक्यु गरेर खाजा खाँदै गर्दा होटलका स्टाफले आगोमा पेट्रोल हालेकाले यस्तो घटना घटेको भिडियो सन्देस मार्फत बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको अनुसन्धान भईरहे पनि घाइतेहरु निको भएर फर्किएपछि थप अनुसन्धानमा सहज हुने बताएका छन् ।