कात्तिक २ गते । नेपाल प्रहरीले नवलपुरको कावासोतीमा निर्माण गरेको अत्याधुनिक सुविधा युक्त प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प आजदेखि सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पेट्रोल पम्प उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले शिलालेख अनावरण तथा रिबन काटेर उद्घाटन गरे लगत्तै उपभोक्ताले पम्पमा सेवा लिएका छन् ।
कावासोती –२ स्थित जिल्ला प्रहरी कार्यालयको नाममा रहेको खूल्ला मैदानका नामले परिचित ठाउँमा एक बिगाहा २ कठ्ठा १७ धुर जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीले प्रहरीले सञ्चालन गर्ने पेट्रोल पम्प ब्यापार गर्नका लागि मात्रै नभई सामाजिक कार्यका लागि समेत भएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ अहिलेको समयमा अत्यावश्यकीय वस्तु बनेको हुँदा बन्द हड्ताल जस्ता अप्ठेरो समयमा प्रहरीको पेट्रोल पम्प बन्द नहुने भएकाले यसबाट उपभोक्तालाई नै सहयोग पुग्ने बताउनुभयो । प्रहरीले सञ्चालन गरेका पम्पहरुबाट आएको आम्दानीबाट अमर प्रहरीका परिवार तथा अङ्गभङग भएका, अशक्त प्रहरीका परिवारको शिक्षा दिक्षा , स्वास्थ्य उपचारका लागि कोषमा रकम जम्मा हुने जानकारी दिनुभयो ।
यस्तै खापुङले जेन–जी आन्दोलनका समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने सबैलाई कारबाही हुने बताउनुभयो ।
आन्दोलनको समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने कार्यमा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो र अन्य फुटेजसहितका प्रमाणका आधारमा कारबाही हुने उहाँले बताउनुभयो । त्यस्ता फोटो वा भिडियो पठाएर प्रहरीलाई सहयोग गर्न पनि उहाँले अपिल गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर चिरञ्जीवी प्रताप महतोले पेट्रोल पम्प निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १० करोड ९९ लाख ५५ हजार रुपैयाँ लागतमा पम्प निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण महाशाखा र एनसी अल्फा हेड्स तेजश्वि जेभी चौरी देउरालीबीच एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार समयमै निर्माण भएको उहाँले बताउनुभयो ।
पम्प परिसरमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन , एटिएम सेन्टर , सवारी साधन मर्मत सेन्टर , सुन्दर बगैँचा सहितको पार्किङ , कार्यालय भवन तथा प्रहरी कर्मचारी सहितको आवास भवन समेत निर्माण गरिएको छ ।

