जेठ २७, कास्की,
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुयभो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने बताउनुभयोे ।
“हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक÷दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले भन्नुभयो, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।” उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको भने छैन ।
हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले गण्डकी प्रदेश सहित वाग्मती, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी रहेको छ ।
शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो भने अक्टोबर २ मा बाहिरिने अनुमान छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्ने मौसमविद पौडेलले बताउनुभयो ।