
आफूलाई नेपाल प्रहरीको डाक्टर, मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भन्दै प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर भ्रम सिर्जना गरेको अभियोगमा ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौंबाट गए बिशेष प्रहरी टोलीले उनलाई काठमाण्डौंको तारकेश्वर नगरपालिका ६ मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको जनाएको छ । कोही व्यक्ति उनीबाट पिडित भएको भए महानगरीय अपराध महाशाखा काठमाण्डौंमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । प्रहरीका अनुसार उनले आफुलाई मेडिकल डाइरेक्टर हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएका छन् । नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएका उनले प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेका थिए । उनीबाट प्रहरीका पोशाक र विभिन्न तस्वीरसहित अरु सामान समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।