वारम्वार पिल्स प्रयोग गर्नुहुन्छ ? घातक सावित हुन सक्छ सचेत रहनुस ।

यौनका मामिलामा युवा पुस्ता निःसन्देह खुल्ला छ । तर, यसमा ऊ कत्तिको ज्ञान राख्छ भन्ने कुरामा सन्देह गर्न सकिन्छ । किनभने, आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी उसको बुझाइ अपुरो देखिन्छ । असुरक्षित सेक्स गरेको ७२ घण्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा युवती र किशोरीहरूको रजस्वला गडबड हुनेलगायत समस्याका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । यसले गर्भ बस्न दिँदैन भन्ने ग्यारेन्टी पनि हुँदैन । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ र त्यसका खराब असरमा केन्द्रित रहेर धनबहादुर खड्का र अम्मर जिसीले यो सामग्री तयार पारेका छन् । एक स्कुलकी गणित शिक्षिका २४ वर्षीया सरा (नाम परिवर्तन) केही दिनअघि अनिच्छित गर्भ बसेको शंका लागेर बानेश्वरस्थित सिभिल हस्पिटल आइपुगिन् । उनले अपनाएको परिवार नियोजनको विधि थाहा पाउँदा हस्पिटलका कार्यकारी निर्देशकसमेत रहेका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. विमल थापा अवाक् भए । डा. थापाका अनुसार उनको सहज उत्तर थियो, ‘एक वा दुई हप्ताको अन्तरमा पाटर्नरसँग सेक्स हुन्छ । त्यसपछि इमर्जेन्सी पिल्स लिने गरेकी छु ।’ शहरमा बस्ने शिक्षित युवतीले समेत ७२ घण्टे चक्कीका नाममा चिनिने इमर्जेन्सी पिल्स (आकस्मिक गर्भनिरोधक चक्की) लाई नियमित गर्भनिरोधक साधनका रूपमा अपनाएको पाएपछि डाक्टर थापा छक्क परे । उनले ती युवतीलाई भने, ‘पटकैपिच्छे इमर्जेन्सी त नपर्दाे हो !’ युवतीले इमर्जेन्सी परेर भन्दा पनि परिवार नियोजनको सजिलो उपायका रूपमा उक्त पिल्स प्रयोग गरिरहेको बताइन् । पछिल्लोपल्ट भने पिल्सले उनको गर्भ रोक्न त सकेन नै, स्वास्थ्यमा समेत     प्रतिकूल प्रभाव पारेपछि उनी अस्पताल पुगेकी थिइन् ।   सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या शहरमा जति बढ्दो छ, स्वास्थ्यमा यसको प्रतिप्रभाव (साइड इफेक्ट) भएर वा गर्भ नरोकिएर स्वास्थ्य संस्था आउनेको सख्या त्यत्तिकै बढेको छ । गर्भपतन कानुनी हक भएकाले उमेर पुगेका युवतीसँग यसबारे धेरै सोधखोज गर्ने अधिकार स्वास्थ्य संस्था वा डाक्टर र स्वास्थ्यकर्मीलाई छैन । त्यसकारण यसको असरबारे सही आँकडा अस्पतालसँग छैन । तर, उपचारमा संलग्न डाक्टरहरूले भने प्रजनन स्वास्थ्यको चेकजाँच गर्ने र गर्भनिरोधक साधनको प्रयोग गर्दा समेत बच्चा बसेको भनेर गर्भपतनका लागि अस्पताल आउने युवतीहरूको संख्या बढेको अनुभव गरेका छन् । काठमाडौँ, थापाथलीस्थित परोपकार स्त्री रोग तथा प्रसूति अस्पतालमा साउन महिनामा मात्रै १ सय ८२ जनाले ‘मेडिकल एबोर्सन’ गराएका छन् । तीमध्ये धेरै ३० वर्षभन्दा कम उमेरका महिला रहेको अस्पतालको रेकर्डले देखाउँछ । ‘ब्वाइफ्रेन्डसँग सेक्स हुँदा सधैँ इमर्जेन्सी पिल्स लिने गरेकी थिएँ । यसपल्ट काम गरेन जस्तो छ,’ स्त्री रोग विशेषज्ञ डा. लता वज्राचार्यकोमा आइपुगेकी एक किशोरीले निर्धक्क भनिन् । डा. लतालाई ‘सधैँ’ भन्ने शब्दले घोच्यो । सोधखोज गरिन् । ‘यो उपक्रम त महिनौँदेखि दोहोरिएको रहेछ,’ उनले भनिन्, ‘हप्तैपिच्छे ब्वाइफ्रेन्डसँग असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे आई–पिल सेवन गर्ने बढेका छन् । यसले स्वास्थ्यमा समस्या ल्याएपछि वा गर्भ नरोकिएपछि हामीकहाँ आइपुग्छन् ।’ घटेन लाज, बढेन शिक्षा अपुरो जानकारीका कारण यो चक्कीलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्ने गरिएको पाइएको डाक्टहरू बताउँछन् । प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतम भन्छन्, ‘यसको प्रयोगले  गर्भ रहँदैन भन्ने मात्रै बुझाइ आम युवायुवतीमा रहेको छ ।’ उनका अनुसार अहिलेको पुस्ताले ज्ञान पाए र स्वतन्त्रता पाए तर दुइटै अपुरो भयो । ‘ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा फरक पर्दैन,’ उनी भन्छन् । अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्ने गरेको डा. वज्राचार्यको अनुभव छ । कतिपय अवस्थामा हेलचेक्य्राइँ पनि देखिएको छ । सुमन (नाम परिवर्तन) कन्डम प्रयोग गरेर सम्पर्क गर्दा सन्तुष्टि प्राप्त नहुने भन्दै पाटर्नरको महिनावारी समय हेरेर यौनसम्पर्क गर्थे । यस्तो बेला गर्भ बसिहालेमा आकस्मिक गर्भनिरोधक चक्की खान दिन्थे ।  एकपटक त्यसले पनि काम नगर्दा उनकी पाटर्नरले गर्भपतन गर्नुप¥यो । यति हण्डर खाइसकेका उनी समान समस्या लिएर फेरि परिवार नियोजन संघ पुगेका थिए ।  यो पटक ‘मेडिकल एबोर्सन’ले काम गरेन ।  बच्चा बसेको आठ हप्ता पुगिसकेकाले ‘सर्जिकल एबोर्सन’ गर्नुप¥यो । त्यसपछि फेरि केही महिनापछि चक्कीले धोका दिएर त्यहीँ पुग्नुप¥यो । दुईपटकको सर्जिकल गर्भपतनका कारण उनको पाठेघरमा संक्रमण भयो । परिवार नियोजन संघका मेडिकल डाइरेक्टर डा. ओम महर्जनले युवाहरूमा आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने ‘डरलाग्दो ट्रेन्ड’ बढेको बताए । उनले भने, ‘गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरै युवतीको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ ।’ परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताजस्ता कुराबारे जानकारी लिएर मात्रै आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउनुपर्छ । तर, अधिकांशले यस्तो औषधि लिँदा खुलेर कुरा गर्न लाज मान्ने गरेका कारण जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन् । ‘सरकारले सुरक्षित गर्भपतनका लागि खोलेका सेन्टरमा समेत उनीहरू जान हिचकिचाउने गरेकाले उपभोक्ता आफैँले आफ्नो स्वास्थ्य खतरामा पारिरहेका छन्,’ परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. पुष्पा चौधरीले भनिन् । डा. वज्राचार्यका अनुसार युवायुवतीमा सही कुरामा होइन, गलत कुरामा लाज हटेको बताउँछिन् । ‘‘डाक्टर सा’ब ‘प्राइभेट पार्ट’मा समस्या देखियो’ युवतीहरू निर्धक्क भन्छन्,’ उनले भनिन्,  ‘निर्धक्क समस्या भन्न सकेकोमा गाइनोकोलोजिस्टका रूपमा  मलाई खुशी लाग्छ । तर, उनीहरू समस्या आएपछि मात्रै निर्धक्क भन्न सक्छन् । पहिल्यै यस विषयमा ज्ञान लिन हिचकिचाउँदा रहेछन् ।’   शिक्षाको ठूलो अभाव युवाहरूमा छ । ‘उनीहरूमा कन्डम प्रयोग गर्दा प्रशस्त यौन सन्तुष्टि प्राप्त नहुने भ्रम व्याप्त रहेकाले उनीहरू स्वास्थ्यको ख्याल नगरी लगातार आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्छन् र गर्भपतन बढेको छ,’ डा. थापाले भने । गर्भपतन वा उपचारका लागि आउने अधिकांश युवतीले कन्डमको प्रयोगले सन्तुष्टि प्राप्त नहुने भनेर आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग गर्न आफूलाई कर गरेको गुनासो डाक्टरहरूलाई गर्ने गरेका छन् । ललितपुर, हरिहरभवनस्थित नेपाल परिवार नियोजन संघको क्लिनिकका कर्मचारीले दैनिक रूपमा युवाहरूको हैरानी खेप्नुपर्छ । आइतवार शुक्रवार संवाददाता त्यहाँ रहेकै अवस्थामा एक हूल युवा पुगे । तीमध्ये एउटाले गोजीबाट पैसा झिकेर ‘दिदी, त्यो एमए (मेडिकल एबोर्सन) को औषधि दिनू न’ भने । संघकी कर्मचारीले सोधिन्, ‘कसका लागि हो ?’  ती युवाले धक नमानी जवाफ फर्काए, ‘मेरो पार्टनरको प्रेग्नेन्सी टेस्ट पोजिटिभ देखियो । उसकै लागि ।’ संघकी कर्मचारीले इन्कार गरिन्, ‘उहाँ नै आउनुपर्छ । यसरी अरूलाई दिन मिल्दैन ।’ ती तन्नेरीका साथीमध्ये एकले भने, ‘देखिस्, मेडिकल जाऔँ भन्या होइन ।’ युवाको हूल फर्केपछि संघकी कर्मचारी हुमा निरौलाले भनिन्, ‘मान्छेहरूले एबोर्सनलाई कस्तो सजिलो ठानेका हुन् !’ उनका अनुसार गर्भपतन गराउन चाहने यस्ता तन्नेरी समूह लगालग आइरहन्छन् ।  ‘हामीले काउन्सिलिङ गरेपछि र स्वास्थ्य अवस्थाबारे बुझेपछि मात्र महिला स्वयंलाई औषधि दिन्छौँ,’ उनले भनिन् । मेडिकलबाट किनेको औषधिको भर नहुने ठानेर उनीहरू यहाँ आउने गरेको उनले बताइन् । उनको अनुभवमा गर्भपतन गराउन कलिला केटी लिएर अधबैँसेहरू पनि आउने गर्छन् । ‘हामीले १६ वर्षमाथिका महिलाको केसमा सोधखोज गर्न पाउँदैनौँ । उनीहरूले नामसमेत खुलाउन नपर्ने व्यवस्था छ । गर्भपतन महिलाको अधिकार हो,’ उनले भनिन्, ‘यहाँ त उद्धार गरेको भन्दै कलिला केटीहरूलाई गर्भपतन गराउन ल्याउने अधबैँसेहरू पनि छन् ।’

गर्भ रहने उच्च जोखिम
काठमाडौँ, चाबहिलकी रिता (नाम परिवर्तन) उच्च शिक्षा अध्ययनका लागि जापान पुगेको एक हप्तापछि समस्यामा परिन् । जापान जानु दुई दिनअघि आफ्नो ब्वाइफ्रेन्डसँग असुरक्षित यौनसम्पर्क गरेकी थिइन् । यौन सम्पर्क भएको ७२ घण्टा नपुग्दै उनले आई–पिल सेवन गरेकी थिइन् । तर, महिनावारी भएन । गडबड भएको हुनसक्ने भनेर अर्काे हप्तासम्म कुर्दा पनि नभएपछि चेकजाँच गरिन् । गर्भ बसेकै रहेछ । उनलाई आपत् प¥यो, गर्भपतन गराउन जापानको हस्पिटलले कुरुवा अनिवार्य चाहिने बतायो । त्यसपछि उनी घरमा आफूलाई स्वास्थ्य समस्या देखिएको बहाना बनाएर नेपाल आइन् । एयरपोर्टबाट सीधै  केटासाथीसँग सम्पर्क गरेर राजधानीको एक अस्पतालमा गएर गर्भपतन गराइन् । पिल्स खाएर गर्भ नबस्नेमा ढुक्क हुने तर त्यसले धोका दिएपछि प्रसूतिगृहमा धेरैजना आउने गरेको त्यहाँको रेकर्डले देखाउँछ । डा. थापाका अनुसार इमर्जेन्सी पिल्सको ‘फेलर रेट’ नै २० प्रतिशत छ । ‘जति धेरैपल्ट यसको प्रयोग ग¥यो, त्यति नै प्रभावकारिता घट्ने गर्छ र गर्भ रहने सम्भावना बढ्छ,’ उनले भने ।
प्रसूतिगृहका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले हर्माेनसँग सम्बन्धित औषधि भएकाले धेरैपल्टको इमर्जेन्सी यसले नथेग्ने बताउँछन् । भन्छन्, ‘यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।’ उनको अनुभवमा युवायुवतीलाई सामान्य अवस्थालाई पनि इमर्जेन्सी बनाइदिए । भन्छन्, ‘सधैँ इमर्जेन्सी बनाउँदा कतिजना युवती हस्पिटलको इमर्जेन्सीसम्म पुगेका छन् ।’
बढ्दो गर्भपतन
जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)का अनुसार, पाँच वर्षको अवधिमा शहरी क्षेत्रका १४ दशमलब ७ र ग्रामीण भेगका ६ दशमलब ७ प्रतिशतले गर्भपतन गराएका थिए । परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. पुष्पा चौधरी परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या घट्दै जानु र गर्भपतन गर्नेको संख्या बढ्दै जानु चुनौतीको बिषय बनेको बताउँछिन् । उनी भन्छिन्, ‘उपभोक्ताले आफूखुशी यसको प्रयोग गरिदिँदा समस्या बढेको छ ।’
प्रसूतिगृह र चाबहिलको मेरी स्टोप्स सेन्टरमा गरिएको एक अध्ययनले पनि परिवार नियोजनका साधन प्रयोगमा आएको कमीले गर्भपतन गराउन आउने महिलाको संख्यामा वृद्धि भएको देखाएको थियो । अध्ययनका क्रममा ती संस्थामा सुरक्षित गर्भपतन सेवा लिन आएका महिलालाई उनीहरूले प्रयोग गर्ने गरेका परिवार नियोजनका साधन र गर्भपतन गराउन आउनुका कारणबारे विभिन्न प्रश्न सोधिएका थिए । टोलीले विवाहित तथा अविवाहित महिला गरी मेरी स्टोप्सका ७ सय ८० र प्रसूतिगृहमा आएका ३ सय ९२ महिलामा अध्ययन गरेको थियो ।
गर्भपतन गर्न आएका ६३ प्रतिशतले आफूलाई बच्चा नचाहिने भएकाले गर्भपतन गराउन आएको बताएका थिए । मेरी स्टोप्समा आएकामध्ये ४९ र प्रसूतिगृहमा आएकामध्ये ३१ प्रतिशतले साधन नै प्रयोग नगरेको बताएका थिए ।
स्वास्थ्यमा जोखिम
आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिन जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमा गडबड ल्याउन सक्छ । डा. थापा सजिलो भाषामा भन्छन्, ‘यो बगिरहेको खोलामा बाँध हालेजस्तै हो । एकचोटिका लागि रोकिन सक्छ तर नियमित यसैगरी रोक्न थाल्यो भने बाँध पनि भत्किन्छ ।’ सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्ने डा. गौतम बताउँछन् । पटक–पटक शरीरका नियमित  प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्ने डाक्टरहरूको धारणा छ ।   
यसको प्रयोगकर्ता युवतीमा मुटुरोग भएमा वा भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी  अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन् ।
परिवार नियोजन संघकी काउन्सिलर अश्विनी राणाका अनुसार आई–पिललाई परवार नियोजनका अन्य अस्थायी साधनसरह उपभोग गर्ने ट्रेन्डले असुरक्षित यौनसम्पर्क बढाएको छ । ‘यसले जोखिममाथि जोखिम थप्यो,’ उनले भनिन् ।
सन् २००३ देखि नेपालमा गर्भपतन कानुनी छ । तर, एक अध्ययनका अनुसार यसबारे नेपालका ४६ प्रतिशत जनसंख्याले मात्रै थाहा पाएका छन् । बाँकीले अझै गर्भपतनलाई गैरकानुनी ठान्छन् । अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुशी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू धेरै भएको डा. वज्राचार्य बताउँछिन् ।
पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ ।
परिवार नियोजन संघका मेडिकल डाइरेक्टर डा. ओम महर्जन भन्छन्, ‘मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानि त गर्छन् नै ।’ गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु भएको उनले बताए । स्त्रीरोग विशेषज्ञ डा. विमल थापा भन्छन्, ‘लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ ।  पाठेघरमा इन्फेक्सन हुने, धेरै ब्लिडिङ हुन सक्ने खतरा हुन्छ ।’  
के भन्छन् डाक्टर ?
डा. जागेश्वर गौतम, निर्देशक, प्रसूति गृह

अपुरो जानकारीले गर्दा इमर्जेन्सी पिल्सलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्ने गरिएको पाइएको छ । यसको प्रयोगले  गर्भ रहँदैन भन्ने मात्रै बुझाइ आम युवायुवतीमा रहेको छ । अहिलेको पुस्ताले ज्ञान पाए, स्वतन्त्रता पनि पाए तर दुइटै अपुरो भयो । ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन । र, स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा फरक पर्दैन । हर्माेनसँग सम्बन्धित औषधि भएकाले धेरैपल्टको इमर्जेन्सी यसले थेग्न सक्दैन । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।

डा. विमल थापा, कार्यकारी निर्देशक, सिभिल हस्पिटल

शिक्षाको ठूलो अभाव युवाहरूमा छ । उनीहरूमा कन्डम प्रयोग गर्दा प्रशस्त यौन सन्तुष्टि प्राप्त नहुने भ्रम व्याप्त रहेकाले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरिरहेका छन् । इमर्जेन्सी पिल्स लिनुअघि लिनेको स्वास्थ्य अवस्था पनि थाहा हुनुपर्छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटक–पटक शरीरका नियमित  प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम आइपर्न सक्छन् ।

डा. लता वज्राचार्य, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ

पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका,  स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुराको जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ । गर्भपतनलाई नै परिवार नियोजनको साधन जस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो । लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ । पाठेघरमा संक्रमण हुन सक्छ । धेरै ‘ब्लिडिङ’ हुन सक्ने खतरा रहन्छ ।

नागरिक न्युजबाट……………………………..