व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन् ।
होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरलाई पक्राउ गरेको हो।
गत मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरेलगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए।
उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडिओ बनाएका थिए। त्यसरी भिडिओ खिचेर खगेन्द्रले युट्युबमा हालेका थिए।
शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

