रासस, साउन २३, पोखरा : ्अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड अन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको उनले बताए। सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ।
करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्।
बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।

