भदौ १, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यस्तै विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।
असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ ।
सम्पूर्ण रिपोर्ट हेर्नकालागि तलको लिंकमा क्लिक गर्नुहोला..
https://drive.google.com/file/d/1rWEhADtz6DOjxqrrGU8WDlEMqHVHph1M/view

