भदौ २०, काठमाडौं : डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनको जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ। मंगलबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा श्रीलंकाले टस जित्दै ब्याटिङ गरेर ८ विकेटको क्षतिमा २९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३७।४ ओभरमा २८९ रन बनाएर अलआउट भयो।
अफगानिस्तानलाई सुपर फोरमा पुग्नका लागि ३७।१ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो। तर अफगानिस्तानले लक्ष्य भेटाउन सकेन। समूह ‘बी’बाट श्रीलंकासँगै बंगलादेश पनि सुपर फोरमा प्रवेश गरिसकेको छ। यता समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन्। एसिया कपमा सहभागी ६ टिममध्ये समूह चरणबाट नेपाल र अफगानिस्तान बाहिरिएका छन्।

