साउन २५, कावासोती । उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा पर्व मनाइन्छ।
ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार शुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ।
यो दिन पाटनमा देखाइने सत्य युगको धान,चामलको नमूना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ। गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ।
यसै प्रचलन अनुसार आज दिनभर मानिसलाई गाईको स्वरूप बनाएर बजार परिक्रमा गराउने चलन छ। यस्तो गर्नाले वर्षभरी मृत्यु भएका आफ्ना आफन्तहरु गाईको पुच्छर समाई वैतर्णी पार गर्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ। भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई आजकै दिन विसर्जन गरिने प्रचलन रहेको छ।
गाईजात्राका अवसरमा नेपाल सरकारले काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिएको छ। यस्तै प्रदेश सरकारले पनि बागमतीभर सार्वजनिक बिदा दिएको छ।
पछिल्लो समयमा गाईजात्राको अवसर पारेर समाजमा भएका विद्यमान विकृति र विसङ्गतीलाई उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। यसैविच: आइतबार परेको नेवाः समुदायको सांस्कृतिक पर्व गाइजात्रा पर्वको अवसरमा नवलपुरका स्थानीय तहरुले सार्वजनिक विदा दिएका छन् ।
कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले सूचना जारी गरेर नेवाः समुदायको सांस्कृतिक पर्वको रुपमा आइतबार स्थानीय विदा दिएको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबार नेवाः समुदायको सांस्कृतिक पर्व गाइजात्रा र ३१ औं विश्व आदिवासी दिवसको अवसर पारेर स्थानीय विदा दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार ३१ औैं विश्व आदिवासी दिवस शनिबार साउन २४ गते परेको भए पनि देवचुली नगरपालिका र गैडाकोट नगरपालिका तथा बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाले पनि आइतबार विश्व आदिवासी दिवसको अवसरमा भनेर आआफ्नो पालिका भित्र शैक्षिक संस्था, सरकारी कार्यालय र सामाजिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।
यहाँ भिडियाे छ । हेर्नुहाेस ।

