११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यले बताए । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णय गर्न जेठ २० गते बैठक बस्ने निर्णय गरेको थियो ।
तर, माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्रै केन्द्रित गर्ने भएको छ। आचार्यले भर्चुल बैठक चुनावी समीक्षा केन्द्रित हुने र पदाधिकारी छनोट लगायतका विषयमा असारमा बस्ने भौतिक बैठकमा निर्णय हुने बताए।
स्थानीय पालिकाहरुले असार १० गते बजेट ल्याएपछि मात्रै केन्द्रीय समितिको भौतिक बैठक बस्ने उनको भनाइ छ।
स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुख जितेको छ ।

