
२४ चैत, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।