७ जेठ, काठमाडौं । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलले उक्त दुर्घटना भएको हो ।
गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थकहरु रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । लगत्तै खेल स्थगित गरिएको थियो ।
कसैले नक्कली टिकट बेचेको र सोही टिकटमार्फत् भित्र प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीले स्टेडियम अगाडि लगाएको ब्यारिकेड पन्छाउँदै समर्थकहरुको भिड रंगशालाभित्र प्रवेश गरेको थियो ।
फुटबलको प्रत्यक्ष प्रसारण भइरहेको एक भिडियोमा लगत्तै खेल स्थगित गरिएको र स्वास्थ्यकर्मीहरु स्ट्रेचर बोकेर घाइतेहरुको उद्धारमा दौडिरहेको देखिन्छ ।
एल साल्भाडोरको नागरिक सुरक्षाका लुइस अलोन्सो अमायाले करिब ५०० मानिसहरूलाई चिकित्सा उपचार दिइएको र धेरैलाई अस्पतालमा लगिएको बताए ।

