नेपालका केही संक्रमितमा भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’

५ जेठ, काठमाडौं । वैशाखको तेस्रो साता वीरगञ्जका ६७ वर्षीय पुरुष श्वासप्रश्वासको समस्या लिएर एक निजी अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखियो । मधुमेहका बिरामी समेत भएकाले चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर उपचार थाले । तर संक्रमितको अवस्थामा सुधार आएन ।

अस्पताल भर्ना भएको सातौं दिन उनको देब्रे आँखा एक्कासी सुन्निएको जस्तो देखियो । सुगरको मात्रा पनि ह्वात्तै बढ्यो । आँखा दुःख्ने, सुन्निने हुँदाहुँदै रगत जस्तो तरल पदार्थ आउन थाल्यो । उपचारकै क्रममा १० औं दिनमा उनको मृत्यु भयो ।

‘कोभिडका बिरामीलाई प्रयोग गरिने सबै औषधि उनलाई दिएका थियौं, तर स्वास्थ्यमा सुधार आइरहेको थिएन’ उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘सातौं दिनमा आँखा सुन्निने, आँखाबाट रगतजस्तो तरल पदार्थ आउने भयो र अस्पताल भर्ना भएको १० औं दिनमा उनलाई गुमाउनुपर्‍यो ।’

‘रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दा अपरट्यूनिस्टिक इन्फेक्सन हुन गयो’ उनले अघि भने ।

डा. सिंहका अनुसार मृतकमा देखिएको लक्षण ‘म्यूकर माइकोसिस’ रोगसँग शतप्रतिशत मिल्दो थियो ।

म्यूकर माइकोसिसलाई फंगल इन्फेक्सन पनि भनिन्छ ।  निकै विरल देखिने यो सङ्क्रमण  सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय कोरोना महामारीले तहसनहस बनाएको भारतमा ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङ्क्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा भेटिएका थिए । महाराष्ट्रमा मात्र दुई हजारभन्दा धेरैमा यो समस्या देखिएको छ । मुम्बईस्थित ग्लोबल अस्पतालका डाक्टर मिलिण्ड नवालेखेले अलजाजिरा लाई बताएअनुसार दैनिक २०/२५ बिरामी यही समस्या लिएर आउँछन् ।

वीरगञ्जका ६७ वर्षीय पुरुष देखिएको संक्रमण  ‘म्यूकर माइकोसिस’ हो वा होइन भन्ने पुष्टि हुन पाएन । ‘स्वास्थ्यमा सुधार आएपछि आँखामा देखा परेका फंगस जाँच गर्ने तयारी भइरहेको थियो,’ डा. सिंह भन्छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालका जनरल फिजिसियन डा. निरज सिंह भने अरू बिरामीमा पनि यस्तो समस्या देखिएको बताउँछन् ।

डा. सिंहका अनुसार कोरोना संक्रमण भएका बाराका एक व्यक्ति होम आइसोलेसनमा बसेका थिए । डा. सिंहकै सल्लाह अनुसार औषधि पनि सेवन गरिरहेका थिए । सुगरको मात्र धेरै बढेपछि डाक्टर सिंहलाई भेट्न आए । भन्छन्, ‘मुख बाङ्गो देखेपछि मैले म्यूकर माइकोसिस हो कि भनेर शंका गरेँ ।’

म्यूकर माइकोसिसको आशंकामा अस्पतालमा भर्ना गरेर उपचार थालेका सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै आग्रह गरेर औषधि मगाएका थिए । ‘औषधिले काम नगेपछि थप उपचारका लागि काठमाडौं पठाएँ’ नारायणी अस्पतालका डा. सिंह भन्छन्, ‘उपचारका क्रममा मृत्यु भएको खबर सुनें ।’

उनका अनुसार अर्का व्यक्तिमा पनि त्यस्तै समस्या देखिएको थियो, तर परीक्षण गर्न नपाई मृत्यु भयो । एक व्यक्ति भने उपचारपछि सञ्चो भएर घर फर्किएको र अर्का एकलाई म्यूकर माइकोसिसको आशंकामा काठमाडौं रेफर गरेको उनले सुनाए ।

डा. सिंहका अनुसार मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड औषधि प्रयोग गर्ने बिरामीमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अपरट्यूनिस्टिक इन्फेक्सन हुन्छ। जसले सुगर बढ्ने, सास फेर्न असहज हुने, आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने जस्तो लक्षण देखिन्छ ।

यो म्यूकर माइकोसिस रोग हो । म्यूकर माइकोसिसका कारण आँखा सुनिने आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने भएका कारण समयमै उपचार नगर्दा आँखाको ज्योति नै गुम्ने खतरा रहेको उनी बताउँछन् ।

मन्त्रालय भन्छ : खबर आएको छ, औषधि जोहो गर्दैछौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितहरुमा म्यूकर माइकोसिस देखिएको पुष्टि गरे । ‘काठमाडौंमा पनि यस्ता बिरामी भेटिएको रिपोर्ट आएको भन्दै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम भन्छन्, ‘बिरामीलाई स्टेरोइड औषधि प्रयोग गर्दा फंगल इन्फेक्सन हुन्छ र यस्तो लक्षण देखिन्छ ।’

म्यूकर माइकोसिस भएका बिरामीलाई कालाज्वारका बिरामीलाई दिइने औषधि चलाउनुपर्छ । ‘यो औषधि उपलब्ध गर्न अहिले गाह्रो छ’ मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘मन्त्रालयले यो औषधिको जोहो गर्न लागि परेको छ ।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *