जनावरको मायाले जीवनशैली र जीवनको उद्देश्य नै बदलियो

मायाले मान्छेलाई बदल्छ । यो बैंसालु प्रेममा मात्र होइन, जीवन र जगतका अरू आयाममा पनि लागू हुन्छ ।

जस्तो कल्याण सिलवालको कुरा गरौं । उनी पशु–प्राणीलाई असाध्यै माया गर्छन् । त्यही मायाले उनको जिन्दगी १८० डिग्रीमा बदलियो । बाल्यकालदेखि खाईपाई आएको स्वाद छाडे । बाँच्ने शैली र सोच्ने तरिका बदले ।

आखिर उनलाई के कुराले घोच्यो, जसले एकसुरमा बिताइरहेको जिन्दगी नै मोडिदियो ? यो कथाको सुरुवात कोरोना महाव्याधिबाट हुन्छ ।

सर्वत्र सन्त्रास फैलाएको बेला । लकडाउनले शहर सुनसान थियो । यसको सबैभन्दा ठूलो मारमा थिए, सडकका पशु–प्राणी जो मान्छेमा आश्रित छन् ।

उनीहरू भोकभोकै थिए । खान नपाएर यताउता भौंतारिंदै थिए । केही मनकारी सडकमा निस्किएर ती प्राणीको भोक मेट्ने यत्नमा जुटेका थिए । कल्याण पनि आफ्नी छोरीको साथ लागेर भोका कुकुर, गाईबस्तुलाई खानेकुरा दिन लागे ।

दिनहरू बित्यो । जनजीविका सामान्य बन्दै गयो । हिजोको रोगव्याधि र सन्त्रास हरायो । शहरको चहलपहल पूर्ववत् बढ्न थाल्यो । सबै कुरा बदलिए । तर, ती सडकका पशु–प्राणीको माया बदलिएन ।

जसै कल्याण आफ्नो कामका लागि निस्कन्थे, उनका गाडी पछि–पछि सडक कुकुरहरू दौडन्थे । ती अबोध प्राणीहरू हार्दिकतासाथ उनलाई घेरा हाल्थे, लुटुपुटु गर्थे ।

बाहिर खुसी देखिने, रमाउन खोज्ने यिनीहरू भित्रभित्रै कति पीडादायी जीवन बाँचिरहेका छन् ? कल्याणले अनुभूत गरे । त्यो पीडा उनलाई आफ्नै पीडा लाग्यो । त्यो भोक, त्यो रोग उनलाई आफूले नै झेलिरहेको छु भन्ने लाग्यो ।

कोरोना महाव्याधि नहुँदो हो त पशुप्रति उनको यतिविघ्न लगाव हुने थिएन । उनले सडकका ती पशु–प्राणीलाई त्यस्तै देख्थे, जो दुनियाँले देखिरहेका छन् । घिनलाग्दो, डरलाग्दो ।

तर, कोरोना महाव्याधि कल्याणका लागि कल्याणकारी जीवनको एउटा मोड बनिदियो । त्यसबखत जसरी उनी सडक कुकुरको नजिक पुगे, तब उनीहरूको ढुकढुकी अनुभूत गरे । यिनीहरूको निर्दोष आँखा, अबोधपन, हार्दिकताले कल्याणको मन पग्लियो ।

उनले सोचे, यति मायालु प्राणीलाई हामी कति धेरै घृणा गरिरहेका छौं ? कसरी ढुंगा र लात हानेर लखेट्दैछौं । कसरी तातोपानी र एसिड खन्याइदिंदैछौं ? कसरी विष र सिसा मिसाएको खानेकुरा दिंदैछौं ?

धर्तीमा यिनीहरू रहरले आएका थिएनन् । विधाताले जन्माइदियो, तर मान्छेले बाँच्नै दिए पो ?

कहिले तीव्र वेगमा आएको गाडीले आधा शरीर नै किचिदिन्छ, कहिले हतियारको झटारोले मुख नै काटिन्छ । यी प्राणी सधैं भोक, घृणा, अपहेलना, भय सहेर बाँच्नुपर्छ ।

प्राणीप्रतिको यस्तै सद्भावले गर्दा कल्याणले हठात् तीन वटा निर्णय गरे ।

एक, जीवनमा कहिल्यै पनि पशु–प्राणीको मासु खाने छैन ।

दुई, यी प्राणीहरूको दूध खोसेर, छाला काटेर केही पनि खाने–लाउने छैन ।

तीन, बाँचुञ्जेल यिनीहरूकै स्याहारसुसार, औषधि उपचार र खानपानमा आफूलाई समर्पण गर्नेछु ।

अन्ततः उनले आफ्नो मेनुबाट माछामासु हटाए । दूध, दही, घिउ हटाए । साथसाथै पशुजन्य उत्पादन कहिल्यै, कुनै हालतमा प्रयोग नगर्ने प्रण गरे । चाहे त्यो बेल्ट होस् वा ज्याकेट, पेटी होस् वा जुत्ता ।

अब उनी पूर्णतः भेगन भए । यसले उनको खाने खुराक र बाँच्ने ढंग मात्र परिवर्तन गरेन, सोच्ने तरिका पनि बदलिदियो ।

‘हामी मान्छे जाति एकदमै स्वार्थी रहेछौं’ उनी सुनाउँछन्, ‘अरूलाई मारेर, अरूको दूध चोरेर आफ्नो स्वाद मेट्न आतुर हुन्छौं ।’ पशुप्राणीलाई सबैभन्दा बढी अन्याय मान्छेबाटै भएको उनको बुझाइ छ । भन्छन्, ‘न उनीहरूलाई स्वच्छन्द खेल्न दियौं, न खान दियौं । जीवनभर बाँधेर राख्यौं, काटेर मासु खायौं, चोरेर दूध खायौं ।’

मान्छेले गाई पाल्छ, बाच्छालाई दूध खान दिंदैन बरु सडकमा लगेर छाडिदिन्छ । घरमा कुकुर पाल्छ, बुढो र रोगी भएपछि सडकमा लगेर छाडिदिन्छ । यसरी थुप्रै प्राणी रोग र भोगले थलिएपछि सडकमा आइपुग्छन् । कल्याण यस्तै प्राणीहरूलाई खुवाउन, उपचार गर्नमा जुटेका छन् ।

कति घाइते कुकुर, गाईको बाच्छालाई उनले घरमा नै ल्याएर उपचार गरेका छन् । ‘तिनीहरूलाई निको नभएसम्म छाड्न सक्दिनँ’ कल्याण भन्छन्, ‘जे जसरी हुन्छ सकुशल बनाएर मात्र छाडौं भन्ने हुन्छ ।’ एकपटक के भइदियो भने यसरी उपचार गर्ने क्रममा उनको घरमा २० वटा कुकुर जम्मा भइदियो ।

‘सबैलाई राम्ररी स्याहारसुसार गर्न गाह्रो थियो । त्यसैले चिनेजानेका साथीहरूलाई लगेर पाल्न दिएँ’ उनी भन्छन्, ‘त्यसमध्ये दुई वटा आफूले राखें ।’

व्यवसाय नै बदलियो:

लकडाउन नभइदिएको भए, पशुप्राणीसँग घनिष्ठ नभइदिएको भए, उनको उद्यम पनि परिवर्तन हुँदैनथ्यो ।

तर, त्यही प्राणीप्रतिको प्रेमले उनले नयाँ उद्यम सुरु गरे, भेगन रेस्टुरेन्ट । यसको नाम राखेका छन्, भेगन हाउस क्याफे एन्ड रेस्टुरेन्ट ।
यो व्यवसाय मात्र नभएर अभियान पनि भएको उनी बताउँछन् । क्रूरतारहित जीवनयापन अपनाउने र जनावरहरूको हितको लागि काम गर्ने लक्ष्यको साथ यो रेस्टुरेन्ट सञ्चालन गरिरहेको उनले सुनाए । उनले रेस्टुरेन्टको आम्दानीमध्ये १० प्रतिशत सडक जनावरको खानामा छुट्याएका छन् ।

रेस्टुरेन्ट सञ्चालकको साथै उनी पर्यटन व्यवसायी पनि हुन् । पर्यटन व्यवसायमा पर्यटनहरूलाई हात्ती–घोडा चढाएर मनोरञ्जन गराउने चलन छ । तर, त्यो जनावरको दुःखमा नरमाउने भनेर उनले पर्यटनलाई हात्ती–घोडा चढाउन छोडेका छन् । पर्यटनलाई शुद्ध शाकाहारी खुवाउन थालेका छन् । जनावरलाई दुःख नदिई पर्यटनलाई नेपाल घुमाउने अभियान सुरु गरेका छन् ।

‘सोलुखुम्बु ट्रेक जाँदा बजारबाट खच्चडलाई बोकाएर लगेको खानेकुरा खानु भन्दा सोलुखुम्बुमा नै फलेको आलु नै खान्छौं । जनावरहरूमा भइरहेको क्रूरता कम गर्नको लागि मैले मेरो व्यापार शैली नै परिवर्तन गरे ।’ उनी भन्छन्, ‘भेगन भएपछि धेरै साथीहरूले त मलाई गाली पनि गरे । साधु भयो भने । तर, म यो जीवनशैली अपनाएर एकदमै खुसी छु । साथै भेगन भएदेखि म खासै बिरामी पनि भएको छैन ।’

जनावरलाई माया गर्नुपर्छ भनेर जनचेतना फैलाउनु जरूरी छ:

कल्याणले आफ्नो तर्फबाट त जनावरप्रति हुने क्रूरतालाई कम गरे । तर, समाजमा जनावरप्रति हुने क्रूरता एकदमै बढ्दो छ त्यसैले त्यसलाई कम गर्न उनी जनचेतना फैलाउने काममा पनि लगेका छन् ।

धेरै स्कुलमा गएर पशु कल्याणको विषयमा जनचेतना फैलाउने काम गरिरहेका छन् । त्यसले गर्दा साना बालबालिकाले जनावरलाई माया गर्न सिकेका छन् । जनावरको लागि पानी र खाना राखिदिनुपर्छ भनेर सिकेका छन् । कुकुरलाई बाँधेर राख्न हुन्न भन्ने कुरा सिकेका छन् । ती बालबालिकाले जनावर मन नपर्ने आमाबुवाको मनमा पनि जनावरको लागि माया पलाइदिएका छन् ।

शहरी क्षेत्रमा सामुदायिक कुकुरको संख्या एकदमै धेरै छ । त्यसलाई कम गर्नको बन्ध्याकरण गर्नु एकदमै जरूरी भएको उनले बताए ।
आउँदो अप्रिलमा उनले ‘च्यारिटी च्यालेन्ज ट्रेक’गर्दै छन् । उनी भन्छन्, ‘त्यसमा भाग लिनेहरू प्रायः अमेरिकन छन् । नेपालमा ट्रेक आएर नेपाललाई के दिने भन्दा च्यारिटी गरौं र एक जनाबाट एक हजार डलर उठाउँदै छौं । त्यो पैसा कुकुरको बन्ध्याकरण गर्न प्रयोग गर्ने भन्ने निर्णय भएको छ र त्यो कुरामा प्रतियोगीहरू पनि सहमत छन् ।’