तनावजन्य रोगबाट मुक्तिका लागी याेगा ।

नयाँ नयाँ प्रविधिको माध्यमबाट दैनिक जीवन सहज भए पनि वा आधुनिक उपचारको माध्यमबाट रोगहरुका कारण हुने अकाल मृत्युबाट जोगिए पनि मानिसहरु तनावबाट भने मुक्त हुन सकेका छैनन् । बरु व्यक्तिगत शारीरीक, सामाजिक कारणले तनावमा रहेकाहरुको संख्यामा वृद्धि भइरहेको छ ।

उपभोक्तावाद एवं भौतिकवादले निम्त्याएका असीमित चाहना र सामाजिक अन्तर सबन्धहरुका कारण पनि  तनावहरु पनि थपिने क्रम बढ्दो छ ।

तनाव भनेको खासगरी व्यक्तिको चेतन मस्तिष्कले अनुभूत गरिने अवस्था हो, जसलाई मानसिक अस्वस्थता या सन्तुलनमा विचलन पनि मान्न सकिन्छ । चित्तमा पैदा हुने क्लेषहरुका कारण मनमा तनाव  पैदा हुन्छ भने कुनै शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक घटना पनि तनावका कारण बन्छन् ।

मानसिक अवस्थाले कुनै पनि रोग र आरोग्यतालाई प्रभाव पार्छ । तनावले शारीरिक रोगहरुलाई बढाइदिन्छ भने अन्य शारीरिक रोगहरु पनि मानसिक तनावका कारण बन्न पुग्छन् । बहुसंख्यक रोगहरुमा कुनै न कुनै प्रकारको दाह (इन्फ्लामेसन ) रहेको हुन्छ । दाह विभिन्न कीटाणु र विषाणुहरुको संक्रमण, बाह्य तथा आन्तरिक चोटपटक, ट्युमर आदि कारणले पनि शरीरका विभिन्न अवयव, तन्तु या कोषहरुमा उत्पन्न हुन सक्छ र तन्तु सिर्जित हुनसक्छ ।

दाह पनि दुई प्रकारका हुन्छन्- अल्पकालीन र दीर्घकालीन । बाह्य रुपमा दाह घाउ, सुजन आदिबाट प्रकट हुने गर्छ । यस्तो आन्तरिक  दाह या घाउ हेरचाह, तनावबाट मुक्ति सावधानी, पोषण, आवश्यक परे प्रभावकारी औषधि उपचारबाट निको हुनसक्छ । तनावले यस्तो दाहलाई बढाइदिन्छ ।

कुनै पनि प्रकारको शारीरिक तथा मनोवैज्ञानिक उत्तेजनाले शरीरभित्रको सन्तुलन खलबलिएपछि तनाव उत्पन्न हुन्छ । जसकारण व्यक्तिको व्यवहार र आन्तरिक शारीरिक कार्य सम्पादनमा बाधा पुर्‍याउँछ ।

मानसिक तनाव पनि विभिन्न प्रकारका हुन्छन्- क्षणिक र दीर्घकालीन । विभिन्नखाले डर, त्रास, नकारात्मक सोचाइ, कार्यस्थलमा दबाब, महत्वाकांक्षा, प्रतिस्पर्धा, उत्कृष्ट बन्ने चाहना आदि कारणले मनमा तनाव उत्पन्न हुन्छन् । कुनै रोग, अनिद्रा पनि तनावका कारण हुन् ।

तनावको कोषय प्रभाव

कुनै तनाव तीव्र तथा अल्प र कुनै दीर्घ प्रभाव पार्ने खालको हुन्छ ।

तनावका सुरुका तीव्र प्रभाव

तनावको  सुरुमा हाम्रो स्वचालित स्नायु प्रणाली उत्तेजित भई नरएपिन फ्रेन, एपिन फ्रेन जस्ता सम्वाहकहरु उत्सर्जित हुन थाल्छन् । जसकारण विभिन्न कोषभित्र असर पर्न गई मांसपेशी, रगतका नसाहरु खुम्चिने,  नाडी या मुटुको गतिमा वृद्धि हुनजान्छ ।

ढिलो र र्घ प्रकारको प्रभाव

तनाव कायम भइरहे त्यसले हाम्रो स्वचालित स्नायु प्रणाली र उत्तेजनाको केन्द्र (हाइपोथालामस) मा उत्तेजना पैदा हुन्छ । जसकारण कोर्टिसोल नामक हर्मोनको प्रभाव बढ्न जान्छ । कोर्टिसोलको प्रभावले रगतमा ग्लुकोजको मात्रा बढ्न गई रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउनुको सट्टा झनै रोग या घाउहरु बल्झिन वा गम्भीर हुनसक्छन् ।

तनावबाट प्रभावित शारीरिक प्रणाली र अवयवहरु:

तनावले शरीरका सबैजसो प्रणालीहरु जस्तो रक्तसञ्चार, श्वासप्रश्वास, इन्डोक्राइन, मांसपेशी एवं स्नायु प्रणालीलाइ असर गर्छ । तनावले सिम्प्याथेटिक पद्धतिलाई उत्तेजित बनाउँछ र तत्कालै गतिसहितको मुटुको मांसपेशीको खुम्च्याइ बढाउँछ । तनावका कारण मस्तिष्कघात, हृदयघात समेत हुने गरेको छ ।

तनाव र मस्तिष्क:

तनाव मस्तिष्कका विभिन्न भागहरु जस्तै उत्तेजनासँग समन्धित लिम्बिक, हाइपोथालामस, हिप्पोक्याम्पस, एमिग्डाला जस्ता केन्द्रहरु हाम्रो चेतना, विचार, विवेक, ज्ञान जस्ता अन्तस्करण सँग सम्बन्धित मस्तिष्कको अग्रभागको नियमनमा रहेका हुन्छन् । यदि बुद्धि, विवेक, ज्ञान जस्ता कुरा तिरोहित भई उत्तेजना या अवचेतन मनसँग सम्बन्धित केन्द्रहरु हाबी भएपछि अनियन्त्रित तनाव पैदा हुन्छ । यस अवस्थामा मानिस उत्तेजित मात्रै होइन, यदाकदा आत्महत्या गर्न समेत उद्धत हुन्छन् ।

तनावको परक्षण

व्यक्तिको मस्तिष्कमा पैदा भएको तनावलाई माथि उल्लेखित लक्षण र मुटु, नाडी, श्वासप्रश्वास आदि लक्षणको आधारमा परीक्षण गर्न सकिन्छ । त्यस्तै सिम्प्याथेटिक पद्धतिका लागि केही परीक्षण पनि गर्न सकिन्छ । नत्र कुनै सिटिस्क्यान, साधारण एमआरआई जस्ता प्रविधिबाट परीक्षण गर्न सम्भव हुँदैन । छाला मार्फत केही विद्युतीय तरंगद्वारा परीक्षण गर्न सकिन्छ ।

तनावको उपचार:

चिकित्सा विज्ञानमा तनाव हटाउने औषधिहरु छन् । तीमध्ये बहुसंख्यक निद्रा लगाउने प्रकारका छन् । यस्ता एलोप्याथिक औषधिहरुको प्रयोगले लत पनि बढ्छ ।

तनावमा योगसत्रको भमिका

महर्षि पतञ्जलीको योगसूत्रमा मस्तिष्कसम्बन्धी अन्तष्करणचतुष्ट (मन, बुद्धि, अहंकार र चित्त) मध्ये    चित्तको प्रयोग गरिएको छ ।

करिब २५ सय वर्षअघि महर्षि पतञ्जलीले चित्त अर्थात् मनको रोगको उपचारमा योगसूत्र र शरीरको उपचारार्थ   आयुर्वेदशास्त्रको प्रतिपादन गरेका गरेका थिए । शारीरिक रोगहरुमा एलोप्याथिक उपचार नै ग्राह्य हुँदै गए पनि मनको अर्थात् चित्तको उपचारमा महर्षि पतञ्जलीको योगसूत्र सार्वकालिक र वैज्ञानिक हुन्छ ।

योगेन चित्तस्य पदेन वाचां

मलं शरीरस्य च वैद्यकेन

पूर्ण योगारुढ भई केवल पद प्राप्त गर्न पर वैराग्यको अभ्यासद्वारा चित्तका वृत्तिहरुको निरोध हुनुपर्छ, जुन जीवनकालभरि साधारण योगाभ्यासीका लागि सम्भव हुन्न ।

मन र चित्तलाई शान्त बनाउने उपाय भनेको मूलत: योग साधना नै हो । चित्तका क्लेश वृत्तिहरुलाई अभ्यास र वैराग्यद्वारा निरोध गर्न सके पूर्ण समाधिमा नै प्रविष्ट गर्न सकिन्छ । निरन्तर कडा अभ्यास, साहस, प्राज्ञ अर्थात् ज्ञानद्वारा पनि त्यो हासिल हुनसक्छ । श्रद्धा, उत्साह, स्मृति र प्रज्ञा जस्ता उपायद्वारा तीव्र  रुपमा यस्तो सफलता हासिल गर्न सकिन्छ ।

चित्तमा पैदा हुने अन्तर्यहरुलाई व्यवधान मानिएको छ । ती हुन्- व्याधि (रोग), अस्त्यान – मानसिक जड़ता, संशय – संदेह, प्रमाद – प्रमाद,

आलस्य – आलस्य, अविरति- विषयतृष्णा,

भ्रान्ति-दर्शन – मिथ्या अनुभव,

अलब्ध-भूमिकत्व – समाधि न नलाग्ने

अनवस्थितत्वानि – समाधि लाभ भए पनि अधिक समय न टिक्ने

यस्ता चित्तका विक्षेप अर्थात् क्षोभहरु

समाधिका अन्तर्य अर्थात् विघ्न या बाधाहरु हुन् । यी बाहेक पाँच चित्तका विक्षेपहरु पनि छन्- दु:ख,

दौरमनस्य (मनमा  खराबी आउनु)

अङ्गमेजयत्व – अंगमा कम्पन आउनु

श्वासप्रश्वासमा बाधा यी पाँच सहयोगी विक्षेपहरु पनि मानसिक अशान्ति र तनावका लक्षणहरु हुन् ।

तनाव हटाउने यौगिक उपाय:

प्राणायाम (लामो लामो सास तान्दै रोक्दै फाल्दै गर्ने), स्वप्नमा समेत प्राप्त ज्ञानलाई समेट्दै, जुन बिन्दुमा चित्त बस्छ त्यसैमा एकाग्र भई धारणा गर्ने र त्यसै बिन्दुमा ध्यान गरिरहन सक्ने यौगिक अभ्यासबाट  मानसिक तनाव हट्छन् । मानसिक तनाव हटे विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

अझै योगाभ्यास र अपर वैराग्यको माध्यमबाट आध्यात्मिक ज्ञान सहित चित्त शान्त, एकाग्र र निरोध हुन्छ र क्रमश: सविज (संप्रज्ञात,   असंप्रज्ञात) हुँदै संस्कार समेत प्रतिबन्धित भई योगाभ्यासिलेब कैवल्य पद प्राप्त गर्न सक्छ ।