दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दरौखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको छ ।
मत्य विकास केन्द्र, मिर्मीको सहयोगमा अर्जुनचौपारी गाउँपालिकाले ठेड ,गर्जि र हाडे जातका माछाका भुरा दरौखोला केवरेखोला र दिर्जे खोलामा छोडेको हो |
माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक बर्ष खोलामा माछाका भुरा छाड्दै आएको अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
विभिन्न प्रजातिका माछाका भुराहरु प्रत्येक बर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताउनुभयो ।
धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो । पालिकाले खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुरा हालेको हो ।
खोलामा माछाका भुरा हालेसँगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताउनुभयो ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाइ उत्पन्न हुने अवस्था आइपरेमा पालिकाले राहत उपलब्ध गराउनेछ ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुन बमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।