चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो ।
चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव १५ दिनसम्म चल्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गर्दै स्वदेशी र विदेशी लगानी बढाउन सरकारले धेरै कानुन परिवर्तन गर्ने तयारी गरेको बताए ।
‘सरकारी संरचना र नीतिगत जटिलताले गर्दा स्वदेशी होस् या विदेशी लगानी बढ्न सकेको छैन । लगानीमैत्री वातावरण बनाउन हामी नीतिगत जटिलता एकैपटक हटाउने तयारीमा छौं,’उनले भने ।
हालका ऐन कानुन नियन्त्रित र निषेध गर्ने चरित्रका भएका कारणले लगानी र उत्पादनलाई नै निषेध गरेको उनले बताए । एउटा सरलीकृत कानुन बनाएर प्रक्रियागत जटिलता हटाउने उनले आश्वासन दिए ।