
मानव जीवनको अन्तर्यात्रा कुनै बाह्य आराधनाभन्दा गहन छ, जहाँ शब्द, ध्वनि र चेतनाको मिलनबाट आत्माको मौन भाषा बोलिन्छ। व्यक्ति केवल मांसपेशी र अस्तिपञरको संरचना मात्र होइन, ऊ त ऊर्जा, आशय र अन्तरआवाजहरूको जटिल समष्टि हो। यही अन्तसकरणको आवाज—‘हुं’—अर्थात् हुँकार, आत्माको निर्भीक उद्घोष हो, जो चेतनाको गहिराइबाट उम्लन्छ। यो हुँकार कुनै बाह्य देवताको पुकार होइन, बरु अन्तर्मनको साहस, प्रतिरोध र रूपान्तरणको पुकार हो। यही हुँकार नै व्यक्ति भित्रको मौलिक शाक्तिको पहिचान हो।
‘जं’ बीज मन्त्र केवल जप गर्ने शब्द मात्र होइन, यो व्यक्तिको मनमा रहेको डर, अशान्ति र नकारात्मक सोचहरूलाई परास्त गर्न शक्ति दिने आत्मिक साहस र शान्तिको प्रतीक हो। ‘जं’ उच्चारण हुँदा उत्पन्न हुने कम्पनले व्यक्ति भित्रको निराशालाई स्थिर पार्छ, भ्रमलाई हटाउछ र चेतनामा एक नवीन सन्तुलन ल्याउँछ। यो आत्मरक्षा होइन, आत्मबोधको प्रक्रिया हो; जहाँ शत्रुहरू कुनै बाह्य व्यक्ति वा पात्र होइनन्, स्वयं भित्रका आलस्य, मोह, क्रोध र अज्ञानता हुन्।
‘भ्रां, भ्रीं, भ्रं’ यी ध्वनिहरू मात्र नभई चेतनाको सूक्ष्म तरंग हुन्। यी ध्वनिहरू व्यक्ति भित्र फैलिएका विभिन्न अस्तित्वस्तरहरूको समाहार हुन्; भ्रां मा अनन्तताको गूंज, भ्रीं मा ऊर्जा र सौन्दर्यको प्रवाह, भ्रं मा रूपान्तरणको दृढ सङ्कल्प हुन्। यी कुनै देवीको नाममा सीमित छैनन्; यी व्यक्ति भित्रको भैरवी अर्थात् अडिग रूपान्तरणकारी चेतना हुन्। यो भद्ररूपिणी हो, जहाँ शक्ति र करुणा संगै नाच्दछन्। यही भवानी हो, जहाँ वाट जीवनको गहन र उर्जाशील भाव प्रकट हुन्छ।
जब व्यक्ति यी ध्वनिहरूमा ध्यान केन्द्रित गर्छ, तब ऊ देवीको आराधक होइन, आफ्नो आत्माको साधक बन्छ। त्यो साधना कुनै मूर्तिपूजामा सीमित छैन; यो आत्मा भित्रको अमूर्त शक्तिको अनुभव हो। यही अनुभवबाट आत्मबोध सम्भव छ; जहाँ शब्दले शरीर र चेतनाले दिशा पाउँदछ।
यी शब्द बीज हुन् र बीजमा भविष्य लुकेको हुन्छ। ‘हुं’, ‘जं’, ‘भ्रां भ्रीं भ्रं’ यी केवल मन्त्र मात्र होइनन्, यी त चेतनाको बीज हुन्। जो व्यक्ति यी बीजहरूलाई आत्मामा रोप्छ, ऊ एक नवीन रूप, एक मौलिक शान्ति र एक अद्वितीय शक्ति लिएर ।यही हो आत्माभित्रको देवी—न पूज्नुपर्ने, न पुकार्नुपर्ने, बरु पहिचान गर्नुपर्ने। अत: जो व्यक्तिले यी बीजहरूलाई आत्मामा रोप्छ, उसले आफ्नो जीवनमा मौलिक शान्ति, नवीन रूप र अद्वितीय शक्ति सहितको आत्मबोधको पुनर्जन्म नै पाउँदछ। यही हो आत्माभित्रको न पूज्नुपर्ने, न पुकार्नुपर्ने, केवल पहिचान गर्नुपर्ने देवीशक्ति।
यसर्थ, स्वयं भीत्रको हुँकार आत्माको मौलिक उद्घोष हो , जहाँ बीजमन्त्रहरू ‘हुं’, ‘जं’, ‘भ्रां भ्रीं भ्रं’ कुनै देवीको बाह्य आराधना होइनन्, बरु व्यक्ति भित्रैको साहस, शुद्धि र रूपान्तरणको ऊर्जा हुन्। यी ध्वनिहरू आत्मबोधको साक्षात् मार्ग हुन्, जसले व्यक्ति भित्र लुकेको शाक्तिलाई उजागर गर्छन्। पूजा होइन, पहिचान नै यो चिन्तनको सार हो; जहाँ चेतनाको बीजबाट अद्वितीय शान्ति र शक्ति अंकुरित हुन्छ।#Aghori Shmashaneshwor Chandi