दिपेन्द्र रेग्मी, कावासोती ।
गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ,नवलपुरको आयोजना तथा हुप्सेकोट गाउँपालिकाको सहकार्यमा भएको सुशासन प्रबद्र्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु लक्षित सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएकि पाण्डेले स्थानिय सरकारले काम गरिसकेर भुक्तानि दिनुपर्ने बेलामा अर्थ मन्त्रालयले ८ अर्ब बराबरको बजेट कटौति गरिदिँदा स्थानिय सरकारहरु समस्यामा परेको बताउनुभएको हो ।
उहाँले भन्नुभयोः “वडाले योजना बनाएर, सम्झौता गरेर, काम सकेर भुक्तानिको लाईन छ, तर माथिबाट बजेट कटौति भएको छ । आठ अरब स्थानिय तहलाई बजेट कटौति गर्दा हाम्रो अवस्था के भएको होला ? त्यो विषयमा संघियतालाई घाउ लाग्यो कि लागेन ?”
हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले आफ्नै गाउँपालिकामा समेत योजना सकेर भुक्तानि गर्न बाँकि रहेको ८४ लाख बराबरको बजेट कटौति भएको भन्दै उहाँले यसको व्यवस्थापन गर्न कठिन भएको गुनासो गर्नुभयो ।
उहाँले प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको बजेट राजस्व नउठेका कारण राजस्व वाँडफाँड कटौति गर्नु स्वभाविक मान्न सकिने तर समानिकरण अनुदान अर्थात नागरिकको राजस्व, नागरिकलाई पठाउने राजस्व समेत कटौति भएको भन्दै यस्ता विषयलाई खरो रुपमा माथि ल्याउन नसकिए संघियतामा कैँचि चलाउने काम हुन सक्ने बताउनुभएको छ ।
पाण्डेले भन्नुभयोः “आजको दिनसम्म पनि सशर्तका अनुदान पठाउँछ संघ सरकार, उसले भूगोल चिन्दैन, कहाँ पुल चाहिएको छ जान्दैन, कहाँ कुलो बनाउने पर्ने थाहा छैन, कहाँ नेर बाटो पहिरो गाको छ थाछैन, तर माथि बाटै तोकेर आउँछ, आजको बजेट पनि त्यहि प्रकृतिको छ, अहिलेपनि गुनासो छरपस्ट छ तर हामिले, हाम्रा नागरिकले अलिकति बाटो बाङ्गो भएपनि स्थानिय सरकारलाई नै खबरदारि गर्न आउनुहुन्छ ।”
उहाँले संघिय सरकारको जग भनेकै स्थानिय सरकार रहेको भन्दै संघ सरकारले यसतर्फ बेलैमा ध्यान दिन सकेन भने संघियता प्रति जनताको वितृष्णा अझ बढ्न सक्ने धारणा राख्नुभयो ।
गाउँपालिका अध्यक्ष पाण्डेले सूचना प्रवाह र सञ्चार माध्यमको बलियो उपीस्थतीले नै सरकारलाई सफल बन्न र सुशासन कायम राख्न मदत गर्ने हुँदा सञ्चार माध्यमले उठाएका समस्याहरुलाई सकारात्मक रुपले हेर्नुपर्ने समेत बताउनुभएको थियो ।
“म र मेरो नेतृत्वको स्थानिय सरकार नागरिकको सुचनाको हक प्रति प्रतिवद्ध छ, रहने छ ।” भन्ने वाक्यांस लेखिएको व्यानरमा हस्ताक्षर गरेर गाउँपालिका महासंघ अध्यक्ष पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
हुप्सेकोट गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष रमेश बस्ताकोटीले सुचनाको हकका वारेमा प्रशिक्षण दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव आशिस रेग्मीले सहजीकरण गर्नुभएको थियो ।