
काठमाडौं, असार १६ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।
बुधबारमात्रै २८ सय ९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणबाट १८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ हजार ३ जना गरी २८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो कुल परीक्षणको २५ प्रतिशत हो । यसअघि आइतबार १९ सय २०, सोमबार २४ सय ४४ तथा मंगलबार २६ सय ३६ जना थपिएका थिए ।
संक्रमित बढे पनि सरकारले भने निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । थपिएकामा काठमाडौंका ४३६, सुनसरीका १ सय ८५, झापाका १ सय ७९, मोरङ्गका एक सय ४६, कास्कीका १ सय १८, ललितपुरका ८९ र भक्तपुरमा ४७ जना हुन् । मृतक पनि बढेका छन् ।
बुधबार ४१ जनाको मृत्यु भएको छ । त्यसैगरी ३ हजार ५ सय ७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म पीसीआरबाट ६ लाख ३८ हजार ८ सय ५ र एन्टिजेनबाट ३४ हजार ९ सय ४४ गरी ६ लाख ७३ हजार ७ सय ४९ जना संक्रमित भइसकेका छन् ।
५ लाख ९६ हजार १ सय ३२ जनालाई निको भएको छ भने ९ हजार १ सय १२ जनाको मृत्यु भइसकेको छ । हाल ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । १७ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ ।