कावासोती १ मा रहेको पोखरीताल निर्माणको गती सुस्त ।।

शारदा झेडीमगर, फाल्गुण २९ ||
झट्ट हेर्दा फेवातालको स्वरुपमा डिपिआर तयार गरिएको कावासोती १ मा रहेको पोखरी तालको संरचनालाई पुर्णता दिने कार्यमा सुस्तता देखिएको छ । नवलपुरको कावासोती नगरपालिका वार्ड नं १ मा अवस्थीत पोखरी ताल २०६३,०६४ सालदेखि निर्माण कार्यको अवधारणा अनुरुप अगाडि बढेता पनी हाल सम्म पनि उक्त संरचनालाई पुर्णता दिन सकियको छैन ।

भौगोलिक हिसाबले करिव २ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीलाई बिस्थापित गरि नया कृतिम ताल निर्माण गर्ने उदेश्यले यस क्षेत्रका स्थानियबासी समाजसेवी, बुद्धिजिवी तथा राजनीतिज्ञहरु अनवरत रुपमा लागिपरेतापनी बजेट अभावका कारण योजना अनुरुपको ताल निर्माणको कार्यले पुर्णता पाउन सकिरहेको छैन । ताल क्षेत्रसहित करिव २८ बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्र वरपर अहिले केही मात्रामा काम समेत भएको देखिन्छ ।

कावासोती खानेपानी , कावासोती नगरपालिका, संसद बिकास कोषबाट बिभिन्न समयमा प्राप्त बजेटले डिपिआर तयार भएको हो । प्रबेशद्धार , पिच गरिएको प्रबेशमार्ग, निर्माण भएका छन् । बिभिन्न बोटबिरुवा फुल लगाई आर्कषक बनाउने प्रयास गरिएको छ भने पार्कमा बिभिन्न जीव जनावरका मुर्ती निर्माण गरि राखिएको छ । शहिद पार्कका लागि छुट्याईएको जग्गामा देशका लागि बलिदान गर्ने शहिदहरुको शालिक स्थापना गर्ने योजना अनुरुप गत फाल्गुण २ गते प्रथम शहिद लखन थापा मगरको मुर्ती स्थापना गरिएको छ भने भबिष्यमा अन्य शहिदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको पनि शालिक राखिने योजना बनेको छ । मुर्ती आसपासमा मगर समुदायमा प्रयोगमा ल्याईने प्रचलित भाडाकुडा,भेषभुषा सहित मगर संस्कार संस्कृती झल्काउने संग्रालय निर्माण गरिने गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको भनाई छ ।

पिकनिकमा रमाउन चाहनेहरुका लागि पनि उचित पिकनिक स्पट, बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन पार्क, स्मृती बाटिका (जहा आफ्ना दिवंगत भएका आफन्तहरुको सम्झनामा बृक्ष रोपण गरि त्यहा नाम प्लेट राखिने) शहिद पार्कका लागि निश्चित ठाउ छुट्याईएको छ । यो संगै पछिल्लो समय बालुवाडाडा पर्यटन बिकास युवा संञ्जालद्धारा प्याराग्लाईडिङ्गको परिक्षण उडान सफल भएको छ । जसले गर्दा यो स्थान आफैमा पर्यटकहरुका लागी आर्कषणको केन्द्रविन्दु बन्न सक्ने सभ्भावना बढिरहेको छ । आर्थिक बिकासको प्रमुख आयामहरु मध्य कृषि, पर्यटन,उद्योग ब्यापार, प्राकृतिक श्रोत साधनको सहि परिचालन गरि चलायमान बनाउनु नै समग्र बिकासको प्रमुख आधार मान्न सकिन्छ । पर्यटन प्रबद्र्धनका साथै ऐतिहासिक प्राचिनकालिन मन्दिर र त्यसनजिकैको प्राकृतिक पोखरीलाई बिस्तार गरि पछिल्ला पुस्ताहरुलाई सभ्यता र संस्कृतीको उत्थान गर्दै हस्तान्तरणका लागि पनि यो योजना आफैमा महत्वपुर्ण रहेको छ । यसको प्रर्बद्धनका लागी केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारसंग बजेट माग गरिएको भएपनि आवश्यक अनुसार बजेट पर्न नसकेकोले काम हुन नसकेको ताल निर्माण समितीका सचिव श्रीखण्ड काफ्लेको भनाई छ ।

किम्बदन्ती अनुसार यस ठाउमा पहिले राजा महाराजाहरुको किल्ला रहेको थियो । जुन ठाउ अहिले महाराजा मन्दिरको रुपमा प्रख्यात रहेको छ । उक्तमन्दिर रहेको स्थानबाट करिव ७ सय मिटरको दुरीमा पोखरी रहेको थियो । भने राजाहरुले मनोरञ्जनका लागि पनि पोखरीको पानी सदुपयोग गर्ने गरेको सुन्नमा पाईन्छ । तत्कालिन समयमा पाल्पाका सेन वंशिय राजा मणीमुकुन्दसेन चितवन जिल्लामा रहेका जंगलमा शिकार खेल्न निस्कने क्रममा शिकार परोस् भन्ने मनोकांक्षाले पोखरीमा जलदेवीको पुजा आराधना गरि निस्कने गर्दथे । त्यसको आधारमा नै अहिले सो ताल निर्माण गर्दा बिचमा जलदेबिकोमन्दिर निर्माण गर्नका लागी आधार तयार पारिएको छ । पोखराको फेवातालमा रहेको ताल बराही मन्दिरमा दर्शन गर्न जाने बखतको झल्को मेट्ने गरि यस तालको बिचमा पनि मन्दिर निर्माण भए पश्चात् बोटिङ र डुङ्गाको साहारामा मन्दिरसम्म पुग्न सकिने मिठो परिकल्पना रचिएको छ ।

सोही परिकल्पना अनुरुप नै बिचमा मन्दिरका लागी आधार खडा गरिएको हो । वि.सं. २०४६ सालमा यस क्षेत्रमा बिभिन्न जिल्लाका मानिसहरुले एक्कासी करिव २०० वटा छाप्रा निर्माण गरि बसोबासका लागी अतिक्रमण गरेको भनाई रहेको छ । त्यसपश्चात् स्थानियबासी,प्रहरी प्रशासन जनप्रतिनीधि, राजनैतिक दलहरु मिलेर उक्त छाप्रा निर्माण गर्नेहरुलाई लखेटेको यस बिषयमा जानकारी राख्नुभएका कुमारवर्ती कलेजका प्रध्यापक झपेन्द्रेश्वर भुषालको भनाई रहेको छ । पोखरीको पहिले खासै चर्चा थिएन करिव गुमनाम जस्तै रहेको पोखरीमा बन्य जीवजन्तु, चराचुरुड.्गी र त्यसक्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुले गाईबस्तुलाई चरीचरनमा लैजाने क्रममा पोखरीको पानि खुवाउने गर्दथे । तर पछि पोखरीलाई ठुलो तालको स्वरुप दिएर पर्यटकिय दृष्टीकोणले बिकास गर्ने लक्ष्य अनुरुपयोजना अगाडी बढाईएको हो ।

योजना अनुरुप पोखरी बिस्तार गर्नका लागि कावासोती नगरपालिकाको वार्ड नं १, ५ र ६ मा सिचाईमा प्रयोग गर्न केरुङगे खोलाको पुर्वी सिचाई प्रणालीका लागी ल्याईएको पानी संचित गरि ताल निर्माण गर्ने र पुनः सो तालको पानीफेरी सिचाईमा सदुपयोग गर्ने योजनाको परिकल्पना रहेको ताल निर्माण समितीका सचिव श्रीखण्ड काफ्लेको भनाई छ । वि सं ०६२÷०६३ सालमा शान्ती प्रकृयाका क्रममा तत्कालिन माओबादी लडाकुहरुलाई ब्यावस्थापन गर्न हात्तीखोर क्यान्टोनमेन्ट खडा गरे । पछि नेपाली सेनामा माओबादी लडाकुको समायोजन पश्चात् अहिले नेपाली सेनाभित्रको वन तथा वातावरण निर्देशनालय हेर्ने गरि नेपाली सेनाको ब्यारेक रहेको छ । यती हुदा हुदै पनी पर्यटकलाई भुलाउन सक्ने आधारभुत आवस्यकताहरु परिपुर्ती गर्न अझै धेरै बाकी रहेको तथ्य हामी सामु छलङ्ग छ ।

कावासोती फलफुल चोक देखि उत्तरतर्फको बाटो बालुवाडाडा हुदै काली गण्डकी करिडोरसम्म जोडिन सक्ने सडक निर्माण गर्न सके मुलुककै दोस्रा ेपर्यटकिय शहर पोखरा घुम्न आउने पर्यटकलाई नवलपुर भित्र्याउने बलियो आधार तय हुनसक्ने देखिन्छ । पर्यटकलाई अड्याउनका र गरिव एवं निम्न आयश्रोत भएका स्थानियबासीको आर्थिक पक्ष उकास्नका लागी ब्यावस्थीत पार्कीङ्ग सहितको होटल रेष्टुरेन्टहरु स्थापनाको साथै खेलकुदहरुको लागी कभर्डहल, खेलकुद मैदान निर्माण गर्न सकेको खण्डमा पर्यटन क्षेत्रका लागि अझै टेवा पुग्न सक्ने थियो । नवलपुर जिल्लामा यथावत् रहेका ऐतिहासिक कावासोती ताल टरुवा, बाघखोर होम स्टे,पिप्रहर होमस्टे,बिभिन्न मठ मन्दिर, हुप्सेकोटको झरना खोला, चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी लगायत क्षेत्रका पर्यटकिय गहना हुन् । यि क्षेत्रका साथसाथै पोखरीतालको सभ्यता र संस्कृतीलाई झल्काउन यो तालको पुर्ण निर्माण हुनु आवश्यक छ ।