
नारायण शर्मा –नवलपरासी । थारूगाउँ । थारू संस्कृति झल्काउने रेस्टुराँ । थारू संस्कृति नै देखाउने अतिथि गृह । रुमहरूको बनोट पनि उस्तै । चारैतिर हरियाली । चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारेका जानकारी । थारू जातिका दैनिकी एवम् जीवन्त क्रियाकलाप ।
तपाईं थारू जातिको बसोबास भएकै ठाउँ पुग्नुभयो भने पनि यी सबै चीज नपाउन सक्नुहुन्छ । किनभने बढ्दो सहरीकरण र बनावटी जीवनशैलीले हाम्रो चिनारी झल्काउने ऐतिहासिक एवम् जातीय सम्पदा लोपोन्मुख अवस्थामा पुगेका छन् ।
व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले नवलपुरको गैँडाकोट नगरपालिकाको हर्कपुरमा बनाउँदै गरेको उन्नति कल्चरल भिलेजले यी सबै ‘दृश्य पस्किँदै’ छ । त्यो पनि एकै ठाउँमा । त्यति मात्र होइन, यहाँ कला (हस्तकला र साहित्य) को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजना साथ तीव्रस्तरमा काम भइरहेको छ ।
देशका एक्ला अर्बपति विनोद चौधरीले नेपालमा ‘आर्ट भिलेज’ को अवधारणा कार्यान्वयनमा ल्याएका हुन् । ‘नेपाल विश्वमै कलासंस्कृतिमा समृद्ध मुलुक हो । यति हुँदाहुँदै पनि हामीले सम्पदा संरक्षणमा ध्यान दिएनौँ भने हाम्रा मौलिकता गुम्दै जानेछन्,’ चौधरी फाउन्डेसनका अध्यक्षसमेत रहेका अर्बपति चौधरीले भने, ‘उन्नति कल्चरल भिलेजलाई हामीले साधकहरूका निम्ति समर्पण गरेका छौँ । भिलेजमा बसेर उहाहरूले आफ्ना सिर्जनासँग रङ भरेको हेर्ने मेरो धोको छ ।’
‘बिजनेस विथ पर्पस’को अवधारणामा आफ्नो व्यावसायिक साम्राज्य अगाडि बढाइरहेका चौधरीले नवलपुरमा निर्माण गरेको कल्चरल भिलेज देशकै नमुना मानिएको छ । यसअघि उनले नवलपुरमै ‘शाश्वतधाम’ निर्माण गरेर एक उत्कृष्ट धार्मिक गन्तव्यको विकास गरेका छन् ।
चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको भिलेजमा सीजी ग्रुपले विभिन्न संरचना निर्माण गरिरहेको छ । सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’को नाउँ दिइएको उन्नति कल्चरल भिलेजका कार्यकारी प्रमुख एवम् चौधरी ग्रुपका वरिष्ठ महाप्रबन्धक नारायण श्रेष्ठले बताए ।
‘थारू संस्कृतिमा गदला भनेको जाड र मोद भनेको रक्सी हो,’ उनले भने, ‘मौलिकता आओस् भनेर हामीले त्यहीअनुसार नाउँ राखेका हौँ ।’ अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको उनको भनाइ छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिने उनले जानकारी दिए ।
करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।
अग्र्यानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ । ‘सहरमा जन्मेहुर्केका बालबालिकामा नेपालको खेतीपातीबारे जानकारी छैन । कसरी खेती हुन्छ ? कुन उब्जनी कसरी फल्छ, उनीहरूलाई थाहा छैन । भए पनि एकदमै कम छ,’श्रेष्ठले भने, ‘अग्र्यानिक पद्धतिबाट कसरी खेती गरिन्छ भन्ने विस्तृतमा जानकारी पाइनेछ । त्यसका लागि कृषि क्षेत्र छुट्याएका हौँ । आगन्तुकलाई त्यससम्बन्धी सूचना एवम् जानकारी दिनेछौँ ।’
कृषि भनेको जीवन धान्ने प्रमुख माध्यम हो । नयाँ पुस्तालाई ज्ञानसँगै यससम्बन्धी जिज्ञासा जगाउनुपर्छ भनेर यो क्षेत्र छुट्याएको उनले बताए । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि तरकारीलगायत वस्तु यहीँका उत्पादन पस्किने भिलेजको तयारी रहेको श्रेष्ठले जानकारी दिए । ‘अहिलेका बालबालिकालाई विभिन्न तरकारी एवम् खेतीपातीबारे सचेतना जगाउने स्थानका रूपमा पनि यसलाई विकास गर्दै छौँ,’ उनले भने ।
कल्चरल मल्टीपर्पस हल पनि निर्माणाधीन छ । यसमा कल्चरल ब्याङ्क्वेटिङ, सभासमारोह, सांस्कृतिक प्रदर्शनी आदि हुनेछन् । साथै, सांस्कृतिक ‘थिम’मा आधारित मिटिङ पनि यहाँ गर्न सकिनेछ । यहाँको थारू रेस्टुराँले थारूका परिकार त पस्किन्छ नै, सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि अतिथिहरूलाई चखाउने श्रेष्ठले बताए ।
भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ ओटा स्थान छुट्याइएको छ( ओपन एयर म्युजियमका लागि । त्यसमा नेपालका चर्चित कलाकारले यहीँ बसेर आफ्ना कलाकृति सिर्जना गर्नेछन् ।
ती सिर्जनालाई यहीँ प्रदर्शनीमा राखिने उनले जानकारी दिए । ‘कसैले सेरामिकमा आफ्ना रचना सिर्जना गर्नुहुनेछ, कसैले काठ त कसैले माटोमा,’ उनले भने, ‘यही फेब्रुअरीमा पाँच जना कलाकारले यससम्बन्धी काम सुरु गर्दै हुनुहुन्छ ।’
क्राफ्ट भिलेज पनि यहाँको अर्को विशेषता हो । स्थानीय हस्तकलाका विभिन्न साधन उचित मूल्यमा बजारमा पठाउने गरी निर्माण गर्ने तयारी छ । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने, उनीहरूलाई यहीँ तालिम दिने र बजारले खोजेका हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने भिलेजको योजना छ । तिनलाई बजार खोज्ने काम पनि भिलेजले नै गर्नेछ ।
‘हामीले उत्पादन गरेका हस्तकलाका सामग्रीको डिजाइन उत्कृष्ट हुनेछ,’श्रेष्ठ दाबी गर्छन्, ‘मार्केटले बुझ्ने र उपयोगी हुनेछन् ।’ नयाँ पुस्तालाई हस्तकलाप्रति रुचि जगाउन र नेपाली मौलिक पहिचान कायम राख्न पनि यस्ता काम आवश्यक रहेको उनले बताए । ‘अहिलेको जेनेरेसनले यो काम छाड्दाबित्तिकै परम्परा हराउने भयो । पुरानो ‘स्किल’लोप हुने भयो,’ उनले भने, ‘त्यसलाई निरन्तरता दिनुपर्ने भएकाले उन्नति कल्चरल भिलेजको अवधारणा आएको हो ।’
‘प्रोफेसनल डिजाइनर’ले हस्तकलाका सामग्री बनाउनेछन् । साथै, यस क्षेत्रमा आवद्ध सीपयुक्त व्यक्तिलाई भिलेजमा ल्याएर वा उनीहरूकै समूहमा गएर उनीहरूमा जुन किसिमको हस्तकलाको कौशल छ, त्यसलाई सर्वसाधारणसमक्ष लैजाने काम हुने श्रेष्ठले बताए । साथै, अरूलाई हस्तकलासम्बन्धी सीप सिकाउने काम पनि हुनेछ ।
नेपाली शिल्प एवम् क्राफ्टबारे जनमानसमा रुचि जगाउन भनेर हिस्ट्री म्युजियम निर्माणाधीन छ । यहाँ नेपाली क्राफ्टको प्राचीन, मध्यकालीन र आधुनिक क्राफ्ट हुनेछन् । ‘काम र्गयो भन्ने मात्र होइन, कलाप्रेमी एवम् संसारलाई काम राम्रो भएको रहेछ भन्ने देखाउने हिसाबले काम गरिरहेका छौँ,’श्रेष्ठले भने ।
यहाँ जति पनि पाहुना आउँछन्, थारू सांस्कृतिक गाउँमार्फत थारू संस्कृति र यसका विभिन्न मौलिकताबारे साक्षात्कार गर्ने अवसर मिल्नेछ । यसको काम सकिएको छ । यसैगरी, अन्य संस्कृतिलाई पनि भिलेजले ‘रिप्रेजेन्टेसन’ गर्दै छ । ‘हामी चाहन्छौँ, नवलपुर क्षेत्रका अन्य संस्कृति पनि यहाँ कुनै न कुनै रूपमा प्रतिबिम्बित हुनुपर्छ,’श्रेष्ठले भने, ‘जस्तो कि माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ झल्काउने काम हुनेछ । यी समुदायको पनि प्रतिनिधित्व हुनेछ ।’
भिलेजमा बिस्तारै घाटु, सोरठीजस्ता नाच प्रदर्शनी गरिनेछ । ‘यसलाई सांस्कृतिक पर्फर्मेन्स जोनका रूपमा विकास गर्ने पनि हाम्रो योजना हो,’ उनले भने, ‘तर, हामी नाचमा मात्र सीमित हुँदैनौँ, अन्य विषयलाई पनि यहाँ प्रदर्शन गर्छौं ।’ १२र१५ ओटा मात्र संस्कृतिमा आफूहरू सीमित हुन नचाहेको उनको भनाइ छ । ‘नेपालका सबैजसो संस्कृतियहाँ झल्किऊन् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।
काठमाडौं केन्द्रित कलालाई बाहिरी जिल्लामा पनि फैलाउनुपर्छ भनेर पनि सीजी ग्रुपले यो कामको थालनी गरेको उनले जानकारी दिए । ‘कलालाई भ्यालीबाहिर ल्याउनुपर्छ भनेर भिलेजभित्र एउटा एरिया नेपाली कलालाई समर्पित गरेका छौँ,’ उनले भने, ‘यो एरियामा कला प्रवद्र्धन गर्न एमपी थिएटर, सभासमारोह गर्न हल र साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि पनि काम भइरहेको छ । नेपालका सबै कलाकार एवम् साहित्यकारले आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने हामी चाहन्छौँ ।’ नेपालका वरिष्ठ कलाकार एवम् साहित्यकारहरू आफूहरूसँग आवद्ध रहेको श्रेष्ठले बताए ।
‘मुनाफा कमाउने उद्देश्य होइन’
भिलेजमा निर्माण गरिने हस्तकलाबाट प्राप्त आम्दानी नेपाली कलाकै क्षेत्रमा लगाउने सीजी ग्रुपको योजना छ । ‘तर, यो नसम्झिनुस्, घाटाको सौदाबाजी हो यो,’श्रेष्ठले भने, ‘त्यसो पनि होइन, यहाँका उत्पादनबाट प्राप्त आम्दानी कला एवम् साहित्यको प्रवद्र्धनमा खर्च गर्छौं ।’ कलाक्षेत्रको दिगो विकासका लागि आफूहरूले काम गर्न चाहेको उनले बताए ।
सुरुवाती चरणमा सीजी ग्रुपले लगानी गरे पनि दीर्घकालीन रूपमा भिलेजले नै खर्च धान्ने किसिमले काम गरिरहेको उनले जानकारी दिए । ‘भिलेजमा आउने पाहुनाका लागि १० ओटा रुम छन्,’ उनले भने, ‘त्यसमा पाँचवटा थारू र पाँच आर्ट स्टाइलमा बनाइएको छ । त्यसबाट आउने आम्दानी कलाको क्षेत्रमा खर्च गर्छौं । त्यति मात्र होइन, मल्टीपर्पस हल आदिबाट आउने आम्दानी पनि यहीँ लगाउँछौँ ।’
नेपाली आर्ट एन्ड क्राफ्टको क्षेत्रलाई सहयोग होस् भनेर नै आफूहरूले यो परियोजना अघि बढाएको श्रेष्ठले बताए । ‘यो कमिर्सयल होइन, टोटल सोसल भेन्चर हो । सीएसआरको उत्तरदायित्व मात्र नभएर आर्ट एन्ड क्राफ्टमा नयाँ पुस्ताको ग्याप नहोस् भनेर यो काम गरिएको हो,’ उनले भने ।
कहिले खुल्छ भिलेज ?
निर्माणको चरणमा रहेका भिलेज आगामी मार्चमा उद्घाटन गर्ने सीजी ग्रुपको योजना छ । ‘तर, त्यति बेला भएन भने पनि धेरै ढिला हुँदैन,’ निर्माणदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्हालेका श्रेष्ठले भने, ‘किनकि भिलेजमा ८० प्रतिशतभन्दा बढी काम सकिएको छ ।’
भिलेजमा थारू गाउँ बनिसकेको छ । कलाघरको निर्माण पनि सकियो । खेतीपातीका लागि क्षेत्र छुट्याएर त्यसमा काम भइरहेको छ । मल्टीपर्पस हल र क्राफ्ट म्युजियम निर्माणको अन्तिम चरणमा छन् । कला केन्द्र निर्माण पनि सकिने अवस्थामा रहेको श्रेष्ठले जानकारी दिए ।
रोजगारी होइन, स्वरोजगार
भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले मानिसलाई स्वरोजगार बनाउन पनि सघाउनेछ । ‘३०र४० जनाले प्रत्यक्ष रोजगारी पाउलान्, त्यो आफ्नो ठाउँमा छ,’श्रेष्ठले भने, ‘तर, हामी स्वरोजगारको योजनाका साथ अघि बढेका छौँ ।’ किनभने भिलेजले स्थानीयलाई यसमा सहभागी गराउनेछ । हस्तकलाका सामग्री उत्पादनमा होस् वा अतिथि सेवामा नै किन नहोस्, स्थानीयलाई सँगसँगै अघि बढाउने तयारी रहेको उनले जानकारी दिए ।
सहकार्य खुला
भिलेजको अवधारणामा आधारित रहेर काम गर्न चाहने र समान विचार भएका व्यक्ति एवं संस्थालाई सीजी ग्रुपले सहकार्यका लागि ढोका खुला गरेको बताएको छ । ‘हामीले त यसको सुरुवात मात्र गरेका हौँ,’श्रेष्ठले भने, ‘सबैसँग मिलेर यसमा अझ धेरै काम गर्न सकौँ भन्ने नै हाम्रो उद्देश्य हो ।’
एउटा जिम्मेवार नेपाली नागरिक एवम् संस्थाको हैसियतले सायद सबैभन्दा पहिलो कर्तव्य नेपाली मौलिक सांस्कृतिक पहिचानलाई जोगाएर राख्नु हो । त्यसको महत्त्वपूर्ण आयाम क्राफ्ट र आर्ट हुन् । ‘यसमा हामीले जुन बाटो पहिल्याएका छौँ, अरूलाई पनि जोड्न चाहन्छौँ,’ उनले भने, ‘सीजी एक्लैले गरेर केही हुनेवाला छैन । सबैको सहकार्यबाट नै सही प्रतिफल हासिल हुनेछ ।’
सातै प्रदेशमा भिलेजको योजना
सीजी ग्रुपले यस्तै कल्चरल भिलेज सातै प्रदेशमा खोल्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा नवलपुरको हर्कपुरलाई छनोट गरिएको श्रेष्ठले जानकारी दिए । ‘हामी त चाहन्छौँ, सातै प्रदेशमा यस्ता भिलेज खोल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरुवात भएको छ, यसलाई परीक्षण परियोजना मानेर अन्य प्रदेशमा पनि काम थाल्छौं ।’
उन्नति भिलेजको लागतबारेको जिज्ञासामा उनले ‘कूटनीतिक जवाफ’ दिए । भने, ‘लागतभन्दा पनि सामाजिक उत्तरदायित्व ठूलो कुरा हो नि, होइन र ?’
हुन पनि हो, नवलपुरमा जे भइरहेको छ, कला र साहित्यका लागि गज्जब भइरहेको छ ।