
काठमाडौं, २ मंसिर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो ।
कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर बिहीबार भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका छन् ।
सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका छन् ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वाेच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् ।
प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।
यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् ।
असन्तुष्ट न्यायाधीशहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।