कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक क्लिन स्वीप्

१. प्रधानन्यायाधीशले साढे १ बजेलाई बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने
मंसिर २, काठमाडौं ।।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक फुलकोर्ट बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।
२. विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने धारणा राखेका हुन् ।

‘अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिउन्’, मन्त्री शर्माले भने, ‘सरल र रुकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।’ मन्त्री शर्माले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताए ।

राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको बताए । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको भन्दै मन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्नेमा बताए ।

मन्त्री शर्माले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरिकनै कानुन पास गरिदिँदा अहिले समस्या निम्तिएको जिकिर गरे । त्यसैले अब सूक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्ने शर्माले बताए ।
३. प्रदेश २ : सचिव नहुँदा बस्न सकेन मन्त्रिपरिषद् बैठक, अरू मन्त्रालय पनि सचिवविहीन
प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा सचिव छैनन् । सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव एम भुसाल ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमिता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि उनी सरुवा गराएर काठमाडौंमा बसेका छन् ।

मुख्यमन्त्री कार्यालयमा आर्थिक तथा प्रशासनिक कार्य हेर्ने सचिव भुसाल गएदेखि उनको स्थानमा अहिलेसम्म संघीय सरकारले कुनै पनि सचिव पठाएका छैनन् । सचिव नै नभएपछि मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयहरूसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम रोकिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा सचिव वीरेन्द्र यादवको भदौमै सरुवा भए पनि अहिलेसम्म उनको स्थानमा कुनै सचिव आएका छैनन् । उक्त मन्त्रालयमा सचिव नभएपछि उपसचिव अवध कुश्वाहालाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ । तर, गत सोमवार उपसचिव कुश्वाहाको पनि अख्यिार दुरुपयोग अनुसाधान आयोगमा सरुवा भएको छ ।

तत्कालीन वन मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएपछि मुख्यमन्त्रीले सम्हाल्दै आएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा पनि सचिव छैनन् ।

सचिवविहीन यी मन्त्रालयहरूको दैनिक कार्यसमेत प्रभावित भएको छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको बताए ।

‘सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको छ,’ प्रमुख सचिव मैनालीले भने, ‘खाली मन्त्रालयमा सचिव पठाउन अनुरोध गरेका छौं ।’
प्रदेश सरकारका मन्त्रालयहरू सचिवविहीन भएको गुनासो लिएर मुख्यमन्त्री लालबाबु राउत सोमबार राजधानी काठमाडौं पुगेका छन् ।

तर, पनि अहिलेसम्म कर्मचारीको व्यवस्थापन नहुन नसकेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहले सचिव र कर्मचारीको अभाव प्रदेश २ सरकार गठन भएदेखि नै झेलिरहेको बताए । समयमै सचिव नपठाउँदा मन्त्रालयहरूको बजेट खर्चसमेत प्रभावित भएको मन्त्री साहले बताए ।
४. रोल्पामा बस दुर्घटनाः चार जनाको मृत्यु, ११ घाइते
रोल्पामा सवारी दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ। बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

बसमा सवार १८र२० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि १०० फिट तल खसेको छ। विस्तृत विवरण आउन बाँकी छ।
५. कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक क्लिन स्वीप्
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो। बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो।

कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन्। नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे।

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो। नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन्।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो।

विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबईमा आयोजना हुनेछ। जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन्।

६. काँग्रेसको वडा अधिवेशन सर्लाहीमा बिथोलियो, निर्वाचन अधिकृत नै कुटिए
सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार कार्तिक २९ गते भएको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार संस्थापन इतर पक्षले विवाद सिर्जना गरी निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि कुटपिट भएसँगै जिल्लाभर वडा अधिवेशन हुन नसकेको हो ।पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्री, अन्य नेताहरुका साथ अधिवेशनका लागि सामन्जस्यता कायम गर्न निर्वाचन अधिकृतले छलफल गरिरहेको समयमा अनधिकृत रुपमा बैठक कक्षमा प्रवेश गरी एउटा समूहले निर्वाचन अधिकृत पाण्डेमाथि कुटपिट गरेको उनले जनाएका छन् ।

‘अनधिकृत रुपमा बैठक कक्षमा प्रवेश गरी निर्लज्जता, उद्दण्डता तथा मानवहीनताको पराकाष्ठा हुनेगरी निर्वाचन अधिकृतमाथि हातपात गरी उहाँसँग रहेको निर्णय पुस्तिका, अन्य कागजातहरु र मोबाइलसमेत लुटी लगेको’ जिल्ला सभापति रायले विज्ञप्तिमार्फत जनाएका छन् । उनले उक्त घटनाको घोर भर्त्सनासमेत गरेका छन् ।

उनले सो घटनामा संलग्नमाथि आवश्यक कारवाहीका लागि माग गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन पनि पार्टीको केन्द्रीय नेतृत्व र निर्वाचन समिति समक्ष आग्रह गरेका छन् ।
७. सर्वोच्चमा फुलकोर्ट बैठक : १८ न्यायाधीश एकतिर, प्रधानन्यायाधीश राणा आफ्नै कार्यकक्षमा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट सर्वोच्चका न्यायाधीशको पूर्ण बैठक आह्वानमा सहमति जनाए पनि बैठकमा भने सहभागी नभएको खुलेको छ ।

सर्वोच्चमा उपलब्ध अन्य १८ न्यायाधीश बैठकमा उपस्थित रहेका बेला जबरा भने आफ्नै कार्यकक्षमा रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशको सहभागिता अनिवार्य हुन्छ । तर जबराले बैठकले गरेको निर्णय आफूलाई मान्य हुने र आफूले हस्ताक्षर गरिदिने बताएको स्रोतको दाबी छ ।

म बस्दा तपाईंहरूलाई अप्ठ्यारो होला, तपाईंहरू निर्णय गरेर ल्याउनुस्, म सही गरिदिन्छु, प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले जानकारी दियो ।
गोलाप्रथाबाट पेशी तोक्ने गरी नियमावली र कार्यविधि संशोधनलाई स्वीकृत गर्न फुलकोर्ट​ बैठक बसेको हो ।

सर्वोच्च अदालत नियमावली संशोधन भएसँगै पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ ।​ फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।

नियमावली संशोधनको मस्यौदा प्रधानन्यायाधीशको सहभागिताविनै न्यायाधीशहरूले तयार पारेका हुन् ।

नियमावली संशोधन भएपछि आफैंले आफ्ना लागि पेशी गोलाबाट तान्ने गरी इजलासमा फर्किने तयारीमा न्यायाधीशहरू छन् ।

८. महिलालाई आर्थिक स्वतन्त्रतासँग नजोडेसम्म कस्मेटिक सहभागिता मात्रै हुन्छ  : नेता ज्ञवाली
पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिकु सहभागितामा मात्रै सीमित हुने बताउनुभएको छ ।

राजनीतिक दलहरू नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन महिला स्वयंलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको हो ।

राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागिताका विषयमा सञ्चारिका समूहले आज बिहीवार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु कस्मेटिकु सहभागिता मात्रै हुने टिप्पणी गर्नुभयो । उहाँले सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन नसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘वातावरण निर्माण कसरी गर्ने रु यसका लागि पितृसत्तात्मक सोच बाधक छन् । महिलालाई आर्थिक रूपले आत्मनिर्भर र उत्पादकत्वमा नजोडिएसम्म कस्मेटिक सहभागिता मात्रै कायम हुनेछ । महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर सार्वभौम बनाउनुपर्छ । सहभागिताको विषय हेर्दा राजनीतिक देखिए पनि यो सांस्कृतिक विषयसँग जोडिएको छ । सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन सक्दैन । नेकपा एमाले महिलाको सारभूत सहभागितामा जोड दिन्छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मूल्य मान्यताबाट पतन हुँदै गएकाले महिलाहरू राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । महिला सहभागी गराउनकै लागि एउटै पदमा सङ्ख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उहाँले सङ्ख्या थपेर महिला सहभागिता गराएको भन्न नमिल्ने तर्क गर्नुभयो ।

नेता पाण्डेले पदाधिकारी र अन्य निर्णायक तहमा महिला सहभागिता बढाउन निरन्तर अभिमुखीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न महाधिवेशनले पदाधिकारीमा महासचिव र उपाध्यक्षमा महिला निर्वाचित गर्ने दाबी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्थाबाहेक पदाधिकारी र निर्णायक तहसम्मको सहभागिताका लागि सबैसँग छलफल, बहस, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोधा तिम्सिनाले कानुनअनुसार बाध्यकारी व्यवस्थाबाहेक पदाधिकारी तहमा महिला सहभागिता बढाउनेतर्फ दलका नेताहरूको ध्यानाकर्षण गराउनुभयो । महिला नेतृत्व वृद्धिका लागि आवश्यक वातावरण निर्माण गर्नेतर्फ पनि राजनीतिक दलहरूले चासो देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

९. प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरुत्थान र कोरोनाविरुद्धको खोपको सहयोगलगायतका विषयमा कुराकानी भएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले उठाएका विषयमा सहमति जनाउँदै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले अहिले उपलब्ध गराइरहेका सहयोगको निरन्तरतासँगै थप सहयोग पनि हुने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 30 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *