रामकुमार श्रेष्ठ, नवलपुर ०६ पुस । पूर्वी नवलपरासीमा १२ वर्ष पुरा भई १८ वर्ष नपुगेका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। यहाँका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए।

जिल्लामा ४५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए। नवलपुरमा बालबालिकालाई मोडना खोप लगाइएको छ। नवलपुरमा साढे ४५ हजार डोज खोप प्राप्त भएको र पहिलो डोज खोप लगाएको १ महिना भित्रै अर्को डोज खोप लगाउने तयारी गरिएको उनले बताए।

नवलपुरमा पुस ४ गतेबाट कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन सुरु गरेको नवलपुरका स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईँले बताए।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाले आजबाट बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन सुरु गरेको उनले बताए। त्यसैगरी गैडाकोट नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाले पनि केही दिनमै खोप लगाउने गरी तयारी गरेको उनले बताए।

१२ बर्ष पुरा गरी १८ बर्ष नपुगेका एउटै विद्यालयमा २ सय बढी विद्यार्थीहरु रहेको विद्यालयमा सोही विद्यालयमा गएर र संख्या कम भएको विद्यालयको हकमा नजिकैको विद्यालयमा खोप लगाउने उनले बताए। नवलपुरमा मंगलबारसम्म ५ हजार बढी बालबालिकाले खोप लगाइसकेको उनले बताए।