माघ २६, कावासोती ।
नमुना सदरमुकाम निर्माण स्थलको आडमा रहेका धार्मिक संरचनाहरुलाई बाउण्ड्री वाल भित्रै राख्नेगरि तयार गरिएको डिपिआर कुनैपनि हालतमा परिवर्तन गरिनुपर्ने आवाज बलियो भएको छ । देशकै कान्छो जिल्ला नवलपुरकै गौरवको आयोजनाका रुपमा लिईएको कावासोती नगरपालिका वडा नं. ३ को करिब एक सय ८४ विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । तर नमुना सदरमुकाम निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन(ई.आई.ए.) गर्दा समेत उल्लेख भएका त्यहाँका धार्मिक एवं सामाजिक संरचनाहरुलाई वाउण्ड्रि वाल भित्रै राख्ने गरि डिपिआर तयार भएकोमा धार्मिक संरचना संरक्षण समितिले उक्त संरचनाहरु वाउण्ड्रि वाल भन्दा बाहिरै राख्नुपर्ने माग गरेको हो । समितिले बरचुलि गुम्बामा आयोजना गरेको विभिन्न राजनितिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा सबै जसो दलका प्रतिनिधिले समितिको माग जायज रहेको भन्दै उक्त माग कार्यान्वयनकालागि पहल गर्ने ऐक्यबद्धता समेत जायर गरेका छन् । समितिका अध्यक्ष वेलनाथ शर्माको अध्यक्षता तथा कुल प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख, प्रतिनिधि एवं आगामि फाल्गुन २१ मा हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वारहरु समेतको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा त्यहाँ अवस्थित राम मन्दिर तथा रामेश्वर १०८ शिवलिङ्ग धाम, बरचुली बौद्ध गुम्बा, कावासोती बौद्ध विहार, विश्वमाता गौशाला, वल्ड स्टार क्लब लगायतका १२ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले संयुक्त रुपमा त्यहाँका रहेका पुराना १२ ओटै संरचनाहरुलाई वाउण्ड्रि वाल भन्दा बाहिर राखिनु पर्ने मागमा ऐक्यबद्धता जनाउँदै यो विषय सम्बन्धित क्षेत्रमा समेत पुर्याउने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव भिम कंडेल, नेपालि कांग्रेसको जिल्ला सचिव महेन्द्र पोख्रेल, ने.क.पा.का जिल्ला ईन्चार्ज धन प्रसाद सापकोटा, ने.क.पा.बाट नवलपुरको निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार लोक प्रसाद भुर्तेल, रास्वपा गण्डकी प्रदेशका पूर्वाधार प्रमुख नेत्र प्रसाद पराजुलि, श्रम सँस्कृति पार्टिको क्षेत्र नं. २ का उम्मेद्वार कमल चापागाईँ, राप्रपा नवलपुरका सचिव गुणाखर काफ्ले लगायतले धार्मिक संरचना संरक्षण समितिको माग प्रति ऐक्यबद्धता जनाउँदै नमुना सदरमुकाम निर्माणको डिपिआर परिवर्तनकालागि आवाज उठाउने बताउनुभएको छ । आईतबार भएको कार्यक्रमको संस्थाका सचिव फणिन्द्र थापा मगरले सहजिकरण गर्नुभएको थियो । नमुना सदरमुकाम भित्र अहिले भवनहरुको निर्माण कार्य धमाधम चलिरहेको छ भने २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालोपत्रे लगायतका काम समेत भैरहेका छन् ।
दुई फरक निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लाग्ने अनुमान गरिएको छ । पाँच वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नवलपुरको नमुना सदरमुकामको काम यतिबेला तिब्रगतिमा अघि बढेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रेखदेख गरेको संघीय सरकारको यो परियोजना ०८४ कार्तिक २८ भित्रै सम्पन्न हुने उल्लेख गरिएको छ । कावासोती नगरपालिका ३ मा रहेको स्थानीय ज्योतिकुञ्ज सामुदायिक वनको १ सय ७९ बिघा जमीन मन्त्रीपरिषदको निर्णयबाट नेपाल सरकारको नाममा लालपुर्जा प्राप्त भएको थियो । हाल आयोजना स्थलमा चौधरी कन्स्ट्रक्सन प्रा.लि. गौर र समानन्तर–बुद्व हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंले निर्माण कार्य जारि राखेका छन् ।