५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बढ्दो आर्थिक संकटका विषयमा संसदमा गम्भीर छलफल गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै नेता रिजालले सरकार र प्रतिपक्ष नभनी सबै पक्ष अर्थतन्त्र संकटको विषयमा गम्भीर हुन आग्रह गरे ।
स्वास्थ्य तथा औषधि, इन्धन लगायतका वस्तुको आयात बढेको विषयमा गम्भीर भएर सोच्नुपर्ने रिजालले बताए । रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने जमातको जन्म भएको भन्दै उनले राजश्वको दुरुपयोग रोक्न पनि आग्रह गरे ।
‘पहिले विदेशी सहायता चलाउने जमात थियो थियो,’ नेता रिजालले भने, ‘अहिले रेमिट्यान्स र भन्सारबाट स्वतः प्राप्त हुने राजस्व जतासुकै चलाउन पाउने जमातको जन्म भएको छ ।’
उनले पुँजीगत खर्च कमजोर हुनुमा वर्तमान सरकार मात्रै दोषी नरहेको भन्दै त्यसको बचाउ गरे ।

