बैशाख ११, एजेन्सी,
सैन्य ‘कू’ गरेर सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलोपटक विदेश भ्रमणमा जानुभएको छ । सैनिक प्रमुख जनरल मिन आङ लाइङ आज इन्डोनेशियाको राजधानी जकार्ता जानुभएको बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएका सैनिक प्रमुखले अन्तर्राष्ट्रिय नेताहरुसँग पहिलो पटक भेटवार्ता गर्न लाग्नुभएको हो । इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एसोसिएशन आसियनको सम्मेलन हुँदैछ । म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।
सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म सात सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं पक्राउ परेका छन् ।