सन् १९७० को दशकमा मेरी क्याथरिन नामक महिला कोयम्बटुरमा ‘ब्लू माउण्टेन’ नामक एक बालगृह चलाउने गर्थिन् । त्यही समयमा अयावु र सरस्वती नामका दम्पतीले तिनका दुई बच्चा विजया र राजकुमारलाई बालगृहमा छाडिदिएका थिए । 

पछि सन् १९७९ मा राजकुमारलाई डेनमार्कको एक दम्पतीले धर्मपुत्रका रूपमा स्वीकार्यो । नयाँ अभिभावकले उनको नाम क्यास्पर एण्डरसन राखिदिए । उता राजकुमारकी दिदी विजयालाई अमेरिकी दम्पतीले स्वीकारे र उनलाई डायन विजया कल नाम दिइयो । 

४२ वर्षसम्म दुई दाजु बहिनीले एकअर्कासँग भेटघाट त परको कुरा, दुई जना कहाँ छन् भन्ने पनि थाहा पाएनन् । अहिले आएर डिएनए परीक्षणपछि दुई जनाबीच भेटघाट भएको छ। डायनालाई आफ्नो भाइ छ भन्ने थाहा थियो तर छुट्टिने बेला क्यास्पर निक्कै सानो भएकाले उनलाई आफ्नो दिदी छ भन्ने कुरा स्मरणमै थिएन । 

डायनलाई हुर्किरहँदा परिवारका अन्य श्वेत सदस्यभन्दा आफू निक्कै अलग महसुस हुन्थ्यो । ‘तीन वर्षको उमेरमा आमाले बाल गृहमा छाडेको मलाई सम्झन्छु । साथमा भारतसँग जोडिएका सम्झना पनि दिमागबाट हटेन । यसको मतलब फेरी मलाई हुर्काउने परिवारले मेरो राम्रो स्याहार गरेन भन्ने होइन,’ डायनले भनिन् ।

क्यास्परलाई पनि सानै उमेरदेखि आफू हुर्किरहेको परिवारभन्दा आफू फरक महसुस भएको थियो । उनको छालाको रंगले नै उनलाई त्यसो महसुस गराउँथ्यो ।  
‘सन् २०१५ र सन् २०१९ मा कोयम्बटूर जादाँ हामीलाई सानोमा छाडिएको बालगृह बन्द भइसकेको पाएँ । बालगृहसँग जोडिएका मानिसले विगतका फोटो दिने बाहेक केही गर्न नसकेपछि म निराश भएर फर्किएँ ,’ क्यास्परले भने । 

यसबीच उनका एक मित्रले उनलाई डीएनए टेस्ट गर्न सुझाए । ती मित्रले केही कम्पनीले डीएनए नमुना जाँच गरेर त्यसलाई पहिले कम्पनीको भण्डार गरेको स्याम्पलसँग मिलाउने पनि बताए । आफ्नो परिवार चिन्ने अपेक्षामा क्यास्परले ‘एनसेस्टरी’ नामक एक फर्ममा डीएनए स्याम्पल दिए । 

आमा खोज्दा दिदी भेटिइन् 

डिएनए स्याम्पल दिएपनि क्यास्पर त्यति उत्साहप्रद थिएनन् । तर केही महिनापछि अमेरिकाको उताहबाट माइकल नामको एक व्यक्तिले उनलाई फोन गरेर उनको डीएनए स्याम्पल क्यास्परको स्याम्पलसग धेरै हदसम्म मिल्ने बताए । माइकलले पनि ‘एनसेस्ट्री’कै शाखामा डीएनए परिक्षण गराएका थिए । 

यता डायन उनको तर्फको कथा भन्छिन् ,‘ मेरो छोरा माइकलले एक दिन अचानक फोन गरेर ‘आमा मैले तपाईंका केही नातेदार भेट्याएँ’ भन्यो । ’

डायनलाई उनको भाइ छ भन्ने सम्झना त थियो तर माइकलको कुरा सुन्दा उनलाई त्यतातर्फ हेक्का भएन । पछि पो छोराले पत्ता लगाएको नातेदार आफ्नै भाइ भएको पत्ता लाग्यो । ​क्यास्परका अनुसार माइकलले नै फोनमा उनको आमालाई भारतीय बालगृहबाट अमेरिकी परिवारले लगेर हुर्काएको बताएका थिए । 
‘खासमा म भारतमा आफ्ना आमाबुवा खोजिरहेको थिएँ । मलाई त मेरो दिदी छन् भन्ने कहिल्यै दिमागमा आएन । सन् २०१९ मा पहिलो पटक दिदीसँग मेरो कुराकानी भयो ,’ क्यास्परले भने ।एक अर्काको अस्तित्व थाहा भए पछि पनि लकडाउनको कारण उनीहरूबीचको भेटघाट सम्भव भएन । उनीहरूबीचको भेटघाटको लागि यो वर्षको फेब्रुअरी महिना पर्खनुपर्‍यो । 

यसबीच क्यास्परले ‘२३एण्ड मी’ नामक कम्पनीमा पुनः डीएनए दिएका थिए । सो कम्पनीमा डायनले पहिले नै उनको डिएनए दिएकी थिइन् । दुई जनाको डीएनए १०० प्रतिशत मिल्यो । 

‘बालगृहको एक फोटोमा मभन्दा पछाडि एक केटी उभिएको देखिन्छ। उनी नै मेरी दिदी रहेछिन् ,’ क्यास्परले भने । 

डायनका अनुसार दुई जनाबीच पहिलो पटक कुराकानी हुँदा नै उनलाई क्यास्पर आफ्नो भाइ हो भन्ने महसुस भएको थियो । 

डायन र क्यास्पर अहिले नियमित कुराकानी गर्छन् । दुई जनाले छिट्टै भारतमा आफ्नो परिवारका नातेदार खोज्ने योजना बनाएका छन् । 

बीबीसीबाट