जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।
होरीले पछिल्लो यात्रा त्यति सहज नभएको र यात्राको पछिल्लो तीन दिन समुन्द्र छालले दुःख दिएको बताए । परिवारका सदस्य उनको यात्रालाई लिएर धेरै चिन्तित भएकाले उनी हरेक दिन स्याटेलाइट फोनमार्फत परिवारसँग कुरा गर्ने गर्थे । परिवारको चिन्ता हटाउन उनी यस्तो कार्य गर्थे ।
‘कुनै दिन मैले परिवारलाई एक पटक फोन गरिन भने उनीहरू चिन्तित हुन्थे । त्यसैले म नबिराई फोन गर्थे तर यात्रामा परिवारसँगको यही अन्तरक्रिया नै मेरो बल बन्यो र मैले आफ्नो यो यात्रा पूरा गर्न सकेँ ,’ होरीले भने ।
होरीले यसअघि पनि प्रशान्त महासागरको वारपार गरिसकेका थिए । सन् १९६२ मा उनी २३ वर्ष हुदाँ प्रशान्त महासागर एक्लै पार गरेका थिए । त्यस बेला उनको नाममा विश्वमा पहिलो पटक, सबैभन्दा कान्छो मानिसले प्रशान्त महासागर एक्लै पार गरेको रेकर्ड बनेको थियो ।

