झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए ।
“हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उनले भने, “यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।” डा. ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गरे ।



