८ साउन, डोटी । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन् ।
यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३/१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् । डडेल्धुरामा सबैभन्दा कम सात जाहेरी परेका छन् ।
मुलुकीअपराध संहिता, २०७४ को भाग २ को परिच्छेद् १८ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवरजस्ती करणी गरेको मानिनेछ ।’ भनिएको छ ।
यस्तै उक्त परिच्छेदमा करकापमा पारी, डरधाक देखाई, झुक्यानमा पारी अपहरण गरी, शरीर बन्धक राखी लिइएको मञ्जुरीलाई मन्जुरी नमान्ने उल्लेख छ ।
जबरजस्ती करणी उद्योगका ८५ घटना
आर्थिक वर्ष ०७८/०७९ माजवरजस्ती करणी उद्योगमा ८५ घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार कैलालीमा ३७, कञ्चनपुरमा १६, बझाङमा ११, डडेल्धुरामा सात, अछाम, बैतडी र बाजुरामा चार/चार, डोटी र दार्चुलामा एक/एक वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएका छन् ।

