२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको पनि बताए ।
सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको बताउँदै नेता गुरुङले खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको पनि बताए ।
‘खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढिरहेको समस्या परेको छ । राजश्व छलीको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ’ उनले भने ।
नेता गुरुङले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको पनि बताए ।

