
काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाई गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश र्फिता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै कडाई गरेको हो ।
भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले बताए । उनले भने व्यक्तिको स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन मिल्दैन । त्यसैले पर्यटक भिसाको दुरुपयोग नियन्त्रण गर्नको लागि भिसालाई व्यवस्थित र जोखिम कम गर्ने हिसाबले सन्तुलन कायम गर्न खोजिएको हो ।
गृहमन्त्रालयबाट स्वीकृत भएको कार्यविधिले पछिल्लो समय पर्यटक भिसामा विदेश प्रस्थान गर्ने र अलपत्र पर्नेको संख्याको न्यूनीकरण तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास महानिर्देशक तिवारीको छ । जसका लागि विभाग मातहतका कार्यलयमा सफ्टवेयर प्रणली विकास गरेर कार्यान्वयन गरिने उनले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।