
गजल १
म मुटु तिमि मेरो धड्कन भएपछी
पवित्र माया गर्ने तिम्रो मन भएपछी
स्वर्गको अप्सरा जस्तै देखिन्छौ होला
रातो साडी चोलो पहिरन भएपछी
तिमीलाई यसकारण मन पराएको हुँ
मोहनी लगाउने बोली बचन भएपछी
कसरि बयान गरौ म तिम्रो सुन्दरताको
दुनियाँ लठ्ठै पार्ने मृग झैँ नयन भएपछी
एउटै कुराको डरले सताइरहन्छ हरपल
छुट्छौ कि कतै दुरि धर्ती गगन भएपछी
गजल २
यति कठोर होला त्यो मन, सोचेकै थिएन
बारबार लगाउँछौ वचन, सोचेकै थिएन
जुनीजुनी सम्म सँगसँगै रहन्छु भन्ने थियो
क्षणभरमै टुट्छ बन्धन, सोचेकै थिएन
चोखो माया युगौंयुग अजम्बरी हुन्छ लाग्थ्यो
यसरी पलभरमै होला पतन, सोचेकै थिएन
तिम्रा मुलायम हातको प्रेमिल स्पर्श चाहान्थे
कोमल मुटुमा बजार्छौ घन, सोचेकै थिएन
तिमीलाई दिलको रानी बनाएर राखेकै थिए
सिंह बनेर चलाउछौ शासन, सोचेकै थिएन
गजल ३
बुझ्न खोज्यौ मेरो कहानी, खै के बताउँ?
रोएरै सुक्यो आँखामा पानी, खै के बताउँ?
हजारौँको भिडमा पनि आफू एक्लो हुन्छु,
यस्तै रहेछ क्यारे जिन्दगानी, खै के बताउँ?
उसैको पिरले ज्यान सुकेर लौरी झैँ भयो,
नफक्रिदै ओइलायो जवानी, खै के बताउँ?
हिजो~आज चारैतिर अध्यारो मात्र देख्छु,
बन्छु भन्थी आँखाको नानी , खै के बताउँ?
जीवन भर सँगै रहन्छु भन्नेले छोडेपछि,
बनेको छ साथी सिरानी, खै के बताउँ?
बाचुन्जेल साथ नछोड्ने झुठो बाचा गरि,
आखिरमा रहिछे बेइमानी, खै के बताउँ?
गजल ४
तिम्रो मन चोर्न पुगेछु हतार~हतारमा
केश गर थुनिदेउ दिलको कारागारमा
मुद्दा चलाउ अदालत जाऊ प्रमाण पेश
यो मुटुमा सजिएको फोटोको आधारमा
प्रत्येक पल सताइरहन्छ तिम्रा यादले
याद भुलाउने भेटिन ओखति बजारमा
जात, बर्ण, धन, रुपमा दाज्यौ प्रेमलाई
बुझिनौ सब कुरा जायेज हुन्छ प्यारमा
निश्चल मायालाई धनसँग तुलना नगर
फाइदा बेफाइदा त हेरिन्छ ब्यापारमा
मुक्तक १
सधैँ~सधैँ तिम्रो तस्बिर छोएर दिन जान्छ
अनायासै आँसुले मुहार धोएर दिन जान्छ
सपनीमा आई भेटेर जान्छौ खुसि लाग्छ,,
बिपनीमा एक्लै हुन्छु अनि रोएर दिन जान्छ
मुक्तक २
टुटेपछि बाँच्ने आधार ,कस्तो होला?
लुटेपछि खुसी बारम्बार,कस्तो होला?
एकपटक विचार गरि हेर्न मन छ मलाई,
मृत्यु पछिको त्यो संसार,कस्तो होला?
मुक्तक ३
दुःख, पीडा सहेर बाँच्नु पर्ने त थिएन
मरेतुल्य झैँ भएर बाँच्नु पर्ने त थिएन
मेरो पनि पथ्थरको मुटु बनाउन पाए,
तिमीलाई सम्झेर बाँच्नु पर्ने त थिएन।
मुक्तक ४
छताछुल्ल भएको माया ,सँगाल्नु छ एकदिन
न्यानो छातीमा तिमीलाई,अँगाल्नु छ एकदिन
अझैँ कति कठोर बनाउँछौ बनाऊ आफुलाई,
मेरो मायाले त्यो पत्थर मुटु पगाल्नु छ एकदिन।
मुक्तक ५
जिन्दगी आज हेर जुवाको खाल, भएको छ
जित्दा खुसी हार्दाचाहिँ बेहाल भएको छ
कोही न भेट्दा यो मनको वेदना सुनिदिने
बिना गीतको संगीत झै सूर न ताल भएको छ
मुक्तक ६
नसोध मलाइ के छ हाल,धन्नै बाँचेको छु
बनिरहँदा आँसुको ताल,धन्नै बाँचेको छु
साउने झरी झैँ आँसुको बर्सात हुँदापनि,
याद बगाउने आएन छाल,धन्नै बाँचेको छु।
मुक्तक ७
भेट्ने मन नभएपछि एउटै सहर भएर के गर्नु
आफु लाई मात्र एकोहोरो रहर भएर के गर्नु
हरपल आउने अविरल यादले सताएको बेला,
उसैको याद काफी छ मार्न जहर भएर के गर्नु||
साहित्यकारः किस्मत खतिवडा, बिराटनगर