स्याङ्जा । स्याङ्जाकाे आँधीखोला गाउँपालिका-२ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले एक कार्यक्रमबीच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । वडा कार्यालय भवन निर्माणका लागि १ करोड ८८ लाख रूपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर १ करोड ३९ लाख १२ हजार १ सय ३१ रुपैयाँमा श्री विवेक एण्ड कुवेर / श्री विद्यामोहन जे.भी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो ।
२०७८ साल साउन ४ गते सम्झौता भएर २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठासहित एउटा हल रहेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउनुभयाे ।
भवन निर्माणमा सहयोग र सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन र श्रम तथा रोजगार लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य उपलब्धिहरूकाे बारेमा उहाँले बताउनुभयो ।