नारायण शर्मा— चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध छाड्ने ठाउँ हो जटायु रेस्टुरेन्ट । कावासोती–७ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा उक्त रेस्टुरेन्ट छ । प्रजनन केन्द्रमा हुर्काइएका १० वटा गिद्ध शनिबार यहाँको जंगलमा छाडिएको छ ।ती सबै गिद्धमा सेटेलाइट ट्याग लगाइएको छ । ट्यागले गिद्ध कहाँ र कति टाढा पुगेका छन् भन्ने जानकारी दिन्छ ।
संरक्षणकर्मी र स्थानीयको रोहबरमा शनिबार गिद्ध छोडिएको हो । यसरी गिद्धलाई प्राकृतिक वातावरणमा छाडेको यहाँ सातौं पटक भएको छ । शनिबार छाडिएका सबै गिद्ध डंगर प्रजातिका हुन् । प्रजनन केन्द्रमा हुर्काइएका र त्यही जन्मेकासमेत गरेर हालसम्म छाडिएका गिद्धको संख्या ६९ पुगेको छ ।
मरेका चौपाया ल्याएर गिद्धको आहाराका लागि जटायु रेस्टुरेन्टमा छाडिन्छ । आहारा पाउने भएका कारण रेस्टुरेन्टमा गिद्धका बथान आउँछन् । गत माघ १९ मा रेस्टुरेन्टमा एकैपटक ४ सय ६५ गिद्ध आहाराका लागि आएका थिए । यहाँको गिद्ध संरक्षण योजना हेर्न पर्यटक समेत आउने गरेका छन् । रेस्टुरेन्टको जाली भित्र–बाहिर सिनो र पानी व्यवस्था गरिएको छ । रेस्टुरेन्ट बाहिर गोठमा चौपाया पालन छ । यहाँ ल्याइएका बूढा चौपाया मरेपछि गिद्धलाई आहाराका लागि दिने गरिएको छ । गाउँघरमा मरेका चौपाया पनि गिद्धलाई दिन ल्याउने गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन सरकारले दातृ निकायको सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीय सहभागितामा सञ्चालित जटायु रेस्टुरेन्टले गिद्धको संख्या बढाउन ठूलो मद्दत गरेको बताए । स्थानीयको सहयोगमा हुने संरक्षण टिकाउ र जीविकोपार्जनमा सहयोगी हुने देखिएको उनको भनाइ छ । नियन्त्रित अवस्थामा हुर्काएर प्राकृतिक वातावरणमा बाँच्न छाडिने गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटेलाइट ट्याग लगाइने संरक्षणकर्मी डीबी चौधरी बताउँछन् । ‘खुट्टामा नम्बर र ढाडमा सेटलाइट ट्याग लगाइएको छ,’ उनले भने, ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक निगरानी गरिन्छ ।’
लोपोन्मुख गिद्धको संरक्षण गरेर संख्या बढाउन भन्दै २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा स्थानीय सहभागितामा गिद्ध रेस्टुरेन्ट सुरु गरिएको हो । यहाँ २०६५ देखि रेस्टुरेन्टको प्रयोग सफल मानिएको छ । संरक्षणकर्मीहरूका अनुसार नेपालमा हालसम्म नौ प्रजातिका गिद्ध पाइएको रेकर्ड छ, संख्या १५ हजार हाराहारी रहेको अनुमान छ । कावासोती आसपासमा ८ प्रकारका गिद्ध देखिएका छन् । सुनसरी, कास्की, लुम्बिनी, दाङका दुई स्थानसँगै कैलालीमा जटायु रेस्टुरेन्ट छन् ।