कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री आज कठमाण्डौं आइपुग्ने बताइएको छ ।
चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं.आरए–४२५१ को वाइडबडी जहाज हिजो चीनको राजधानी बेइजिङ पुगेको छ । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ ।
चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिइएको छ ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।