एनसञ्चार संवाददाता, साउन १९, कावासोति : गण्डकी आवासीय माध्यामिक विद्यालयले शिक्षण सिकाईमा नयाँ अभ्यासको सुरुवात गरेको छ । नवलपुरको कावासोति नगरपालिका ८ मा रहेको विद्यालयले आजैदेखि हरेक शुक्रबारलाई पुस्तक विहिन (बुकलेस फ्राईडे) दिनको रुपमा कार्यक्रमहरु गरि फरक अभ्यास थालेको हो ।

नवलपुर जिल्लामै पहिलो पटक बुकलेस फ्राईडेको सुरुवात गरेको बताउँदै गण्डकी आवासीय मा.वि.का प्रमुख (प्रिन्सिपल) जगत प्रसाद भट्टराईले भने : “हामिले सैद्धान्तिक रुपमा दिईने किताबि ज्ञानलाई भन्दा पनि व्यवहारिक (प्राक्टिकल) सिकाईलाई प्राथमिकता दिन खोजेका हौँ । हप्तामा एक दिन किताब नलिई विद्यालय आउनु, पाठ्यक्रममा जे भनिएको छ त्यसलाई प्राक्टिकल्ली गर्नु, हेर्नु वा बुझ्नु ः यो विद्यार्थिको लागि पनि र शिक्षकहरुकै लागि पनि नौलो प्रयोग हो ।”

विद्यालयका प्रिन्सिपल भट्टराईका अनुसार हरेक शुक्रबार कक्षा नर्सरि देखि ४ सम्मका विद्यार्थिलाई सिकाईका आधारभुत कुराहरु व्यवहारिक रुपमा विद्यालयमै सिकाईने छ भने कक्षा ४ देखि माथि १० सम्मका विद्यार्थिहरुलाई स्थानिय पाठ्यक्रममा भए अनुसारका ठाउँहरुमै लगेर शिक्षण सिकाईलाई अझ प्रभावकारि बनाईने छ ।

भट्टराईले भने : “जिल्लामै पहिलो पल्ट यो हामिले सुरु गर्न लागेका हौँ, नगरपालिकामा पनि यसवारे हामिले कुरा राखेका छौँ, उहाँहरुपनि सकारात्मक नै हुनुहुन्छ तर यो कार्यमा के कसरी नगरले सहयोग गर्छ भन्ने वारे केहि प्रतिकृया आईसकेको छैन, विद्यार्थिलाई किताबि कुरा पढाएर मात्र हुँदै हुँदैन भनेर नै हामिले जे पढिँदै छ त्यसलाई व्यवहारमा पनि उतार्न खोजिएको हो, नयाँ प्रयोग भएकोले यसको प्रभाव कस्तो हुन्छ त्यो त भोलिको दिनले नै देखाउला ।”

पछिल्लो समय सैद्धान्तिक शिक्षा भन्दा पनि व्यवहारिक शिक्षा दिईनुपर्ने आवाजहरु सडक देखि सदन सम्म पनि उठिरहेका छन्, कोरा किताब पढेर उत्पादन भएको जनशक्ति मुल्य विहिन रहेको भन्दै वर्तमा शिक्षा प्रणालि माथि नै प्रश्नहरु ठडिईरहेको यो अवस्थामा निजि स्रोतबाट सञ्चालित विद्यालयले गरेको प्रयासलाई सकारात्मक रुपमा लिएर सक्दो साथ सहयोग दिनुपर्ने शैक्षिक क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरुले बताएका छन् ।